सिन्धुपाल्चोक र दोलखामा रहेको म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी भएको छ ।

३४ वर्षदेखि सञ्चालनमा नआएको ओरियन्ट म्याग्नेसाइट उद्योग पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा उद्योगका सामान पाटपुर्जा चोरी भएको हो ।

उद्योगबाट प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीले रोजगारीको अवसर गुमाएका छन् ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो ।

प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न रु २० लाख बजेट विनियोजन गर्नुभएको थियो ।

तर बजेट व्यवस्था गरिएको भए पनि उद्योग सञ्चालनमा आउन सकेन ।

ओरियन्ट म्याग्नेसाइटको विश्वबजारमा उच्च माग हुँदाहुँदै पनि भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन् ।