दशैंको मुखैमा चामलको मूल्यमा वृद्धि

काठमाडौ : नेपालका लागि भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । चामलमा बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा भारतले २० प्रतिशत कर लगाएको हो ।
शुक्रबारदेखि नै बढेको कर भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा बिहीबार कर लगाउने निर्णय गरेको हो ।
पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएकाले भारतको प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने जनाउँदै निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको हो ।
मौसम प्रतिकुलका कारण यो वर्ष भारतमा चामल उत्पादन करिब ७० लाख टन घट्ने अनुमान गरिएको छ ।
भारतले चामल निर्यातमा कर लगाएसँगै नेपालमा पनि चामलको भाउ बढ्काे छ ।
विश्वमा धान उत्पादनमा भारत चीनपछिको दोस्रो ठूलो मुलुक हो ।