प्रविधिको विकासः चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

चितवन : चितवनमा युवाहरूले विद्युत्को ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन सुरुआत गरेका छन् ।

युवाहरूले नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेका हुन् ।

स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको छ । डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने छ । एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेका हुन् ।

२८ जना युवाहरुको सामुहिक रु १० करोडभन्दा बढी लगानीमा डिजिटल स्मार्ट स्वीच बोर्डको उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष सुनीलकुमार यादवले बताउनुभयो ।

अहिले उद्योगले घरायसी प्रयोजनका लागि डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेको भए पनि चाँडै नै उद्योग तथा व्यवसायसहित सम्पूर्ण स्थानमा प्रयोग हुने गरी उत्पादन थालिने उहाँको भनाइ छ ।

उद्योगको अहिले दैनिक दुई हजार पाँच सय डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उहाँले जनशक्ति थप गरेर उत्पादनसमेत वृद्धि गरिने जानकारी दिनुभयो ।

उद्योगले पहिलो चरणमा नौ थरिका स्वीच बोर्ड बजारमा ल्याएको छ । जसमा फरक दुई आकारका आकर्षक स्वीच बोर्ड उत्पादन भइको छ । करिब पाँच वर्ष परीक्षण तथा अनुसन्धानपछि उत्पादनलाई बजारमा लैजान लागिएको जनाइएको छ ।

मोबाइल एप प्रयोग गरी फोनको सहायताले बत्ती, पङ्खा, फ्रिज, टिभीलगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई चलाउन वा बन्द गर्न मिल्ने सुविधासमेत स्मार्ट स्वीचमा रहेको छ ।