इन्द्रजात्रामा नचाइने पुलुकिसि र यसका किंवदन्ती

ताङ्गताङ्ग…….बाजा बज्नासाथै मानिसको मस्तिष्कमा झट्ट आइहाल्ने एउटा प्रतीक नै पुलुकिसि हो । भाद्रकृष्ण द्वादशीका दिन इन्द्रजात्राको प्रमुख कार्य ‘यःसिं’ स्थापना (इन्द्रध्वजोत्थान) गरिएकै दिनदेखि पुलुकिसिको नाच पनि शुरु हुन्छ । सडकमा पुलुकिसि नाचेको देखिए पछि मात्रै इन्द्रजात्राको छनक आउने गर्दछ ।

किंवदन्ती

किंवदन्ती अनुसार पुलुकिसि भनेको स्वर्गका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक हो । इन्द्रलाई काठमाडौंका स्थानीय बासिन्दाले समातेर राखेपछि आफ्नो मालिक कहाँ गए भनी खोज्न ऐरावत हात्ती आएको पौराणिक कथा रहेको छ ।

त्यस्तै, अर्को किंवदन्ती अनुसार प्राचीनकालमा किलागल टोलमा एउटा ठूलो जंगल थियो जुन प्रशस्त हात्तीहरुको वासस्थान थियो । एकदिन एक जना बनेपाका राजा उक्त जंगलमा शिकार खेल्न आए । तरा जंगलमा राजालाई नै हात्तीले लखेट्न थालेपछि ज्यान जोगाउन मुश्किल भयो । उनले तत्काल श्वेतकाली देवीको प्रार्थना गरे । श्वेतकालीले एउटा सेतो हात्तीको रुप धारण गरेर हात्तीहरुको हुलमा पसी राजाको ज्यान जोगाए । त्यसै उपलक्ष्यमा राजाले श्वेतकालीको सम्मान स्वरुप सेतो हात्तीको नाच नचाउने चलन शुरु गरेको हो भन्ने किंवदन्ती रहेको पाइन्छ ।

ताङ्गताङ्ग आवाजको बाजा सहित आउने भएकोले पुलुकिसिलाई कसैकसैले तानाकिसि पनि भन्ने गरेको पाइन्छ । इन्द्रजात्राका बेला जताततै पुलुपालु(झल्याकझुलुक) देखिने भएकोले यसलाई ‘पुलुकिसि’ भनिएको भन्ने पनि छ ।

इन्द्रलाई खोज्न उनी काठमाडौंको तल्लो क्षेत्र, माथिल्लो क्षेत्र सबैतिर कुद्न थाले । त्यही ठाउँमा ’किलाय्कु गल्ली’ भन्ने स्थान पनि छ । ’किसि लायक गल्ली’ अथात् हात्ती समाउने गल्ली भएको कारणले उक्त गल्लीको नाउँ नै ’किलाय्कु गल्ली’ रहन गएको जनविश्वास गरिन्छ ।

यही ठाउँमा ’दुम्ब चुक’ भन्ने स्थान पनि छ । ’दुम्ब’ भनेको नेपाल भाषामा पहाड जस्तो सानो ढिस्को हो । हात्तीको जिउ चिलायो भने यही ढिस्कोमा गएर आङ चिलाउने गर्दथे भन्ने पनि जनश्रुति पाइन्छ ।

किलागल टोलबाट इन्द्रजात्राका बेला निकालिने पुलुकिसिको रंग सेतो हुन्छ । स्वर्गका राजा इन्द्रको वाहन ऐरावत हात्तीको रंग पनि सेतै हुन्छ । किलागलमा रातो हात्तीको मूर्ति पनि छ । रातो हात्तीको मूर्ति रहने घर अर्कै छ । किलागलमा कालो हात्ती पनि रहेको जनविश्वास छ तर अहिले उक्त हात्तीको बारे भने कसैलाई जानकारी छैन ।

पुलुकिसि भाद्रकृष्ण द्वादशीका दिन निकालिने भए पनि यसको लागि तयारीे दुई महिना अघिदेखि नै शुरु भइसकेको हुन्छ । पुलुकिसिको मुकुण्डोलाई आवश्यक मर्मत र रंगरोगन गर्न मासंगल्लीका चित्रकारहरुलाई दिइन्छ । यही बीच यःसिं उठाउनु पन्ध्र दिन अघिदेखि पुलुकिसि बनाउने कार्य पनि शुरु हुन्छ ।

कसरी बनाइन्छ पुलुकिसि

पुलुकिसि बनाउँदा सबैभन्दा पहिले भित्र दुई जना मान्छे बस्न मिल्ने गरि बाँसको कंकाल बनाइन्छ । त्यसमाथि सेतो कपडाले छोपिदिन्छ । एकादशीसम्मा मुकुण्डो मात्रै लगाउन बाँकी राखी सबै काम सकिएको हुन्छ । द्वादशीका दिन किलागल टोलमा इन्द्रको मूर्ति प्रदर्शन गर्ने समयमै पुलुकिसिको मुकुण्डो पनि ल्याइपुर्याउँछ ।

पहिल्यै तयार गरिएको शरीरमा मुकुण्डो जोडिसकेपछि पुलुकिसि बाहिर निस्कन तयार हुन्छ । पुलुकिसि बनाउँदा यसको आकार ठीक यति नै लम्बाई–चौडाईको हुनुपर्छ भन्ने छैन । त्यो केही मात्रामा सानो–ठूलो हुन सक्छ । सामान्यतया त्यहाँ भित्र दुई जना मान्छे अट्ने भएपछि त्यसलाई ठीकै मानिन्छ ।

पुलुकिसि बाहिर आउँदा एकजना पथप्रदर्शकले हातमा चिराग बाली उनलाई डोर्याइएको हुन्छ । पुलुकिसिको सेतो बुट्टेदार कपडाले छोपिएको भाग भित्र दुई जना मानिस बसेको हुन्छ । पुलुकिसि बाहिर निस्कँदा ताङताङ आवाज आउने एउटा छुट्टै खालको बाजा बजाउँदै आउँछ ।

पुलुकिसि नाचमा बजाइने बाजा र प्रकार

पुलुकिसिमा बनाइने त्रिकोण आकारको बाजालाई कँय् पुइचा भनिन्छ । त्यसको साथै एउटा धिमे र एउटा भुस्याः(झ्याम्टा) पनि बजाइन्छ । पुलुकिसि नाचमा बजाइने धिमे अरु सामान्य धिमे भन्दा फरक खालको हुन्छ । यो धिमेलाई किसिप्वः धिमे भनिन्छ ।

फरक फरक अवसरहरुमा यो धिमेको बोल पनि फरक फरक हुन्छ । पुलुकिसिलाई पूजा गर्दै गर्दा यो धिमे पुजाप्वः बोलमा बजाइन्छ । पुलुकिसि नाचिरहँदा बजाइने यसको बोललाई छ्वःरा भनिन्छ भने बाटोमा हिँडिरहँदा बजाइने बोललाई लँप्वः भनिन्छ । यसरी यो तीन किसिमको बोलमा बजाउने गरिन्छ ।

पुलुकिसिलाई दर्शन गर्दा टोपी फुकाल्नुपर्ने र अन्यथा पुलुकिसिले टोपी तानेर हुट्याइदिने गर्दछ भन्ने पनि भनाई रहेको छ ।

पुलुकिसि नाचमा बजाइने बाजा सम्बन्धी तालिम

पुलुकिसि नाचसँगै बजाइने यो बाजा सम्बन्धी तालिम किलागल टोलका स्थानीय ज्यापू समुदायलाई हरेक १२ वर्षमा एक पटक सिकाइन्छ । हरेक १२ वर्षमा टोलका सबै पुरुष ज्यापूहरुलाई वःलाः पठाउने गरिन्छ । यति बेला आफ्नो परम्परागत कला, सँस्कृति, बाजा, धुन्या जस्ता सबै सीप सिकाइन्छ । यही बेला पुलुकिसिको धिमे बजाउने तालिम पनि दिइन्छ ।

इन्द्रजात्रा शुरु भएपछि आठै दिन पुलुकिसि बाहिर निस्कन्छ । अन्तिम दिन नानीचायाःको बेला भने श्री कुमारीको रथ आफ्नै किलागल टोलबाट तान्ने भएकोले पुलुकिसिले आफ्नो नाच अझै रौनकपूर्वक प्रस्तुत गर्दछ ।

भाद्रकृष्णपक्ष चतुर्दशीका दिन इन्द्रजात्रा सकिएपछि पुलुकिसिको मुकुण्डो निकाली शरीरलाई अल्लगै राखिन्छ । मुकुण्डो भने गणेशको मूर्ति सरह हुने भएकोले त्यसलाई छुट्टै आसनमा राखेर हरेक दिन पूर्जा गर्ने चलन छ ।