‘काठमाडौँको न्युनतम तापक्रम १५ डिग्री भन्दा तल झरेपछि डेङ्गु संक्रमण पनि ओरालो लाग्छ’

डा बाबुराम मरासिनी सरुवा रोग विशेषज्ञ

डेङ्गु संक्रमण अहिले फैलिदो क्रममा छ । यो अवस्थालाई तपाईँ सरुवा रोग विशेषज्ञ पनि भएको हिसावले कसरी लिनुभएको छ ?

यो संक्रामक रोग हो । यो रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रामक रोग देखिनै वित्तिक्कै तुरुन्त त्यसको रोगथामको उपाय खोजी गर्नुपर्ने हुन्छ । यो रोगको उपचार विधि छैन र खोप पनि छैन । त्यसैले यसको नियन्त्रण भनेकै सुरुमै फैलिन नदिने हो ।

सुरुमै घरघरमा गएर लामखुट्टेको अण्डा, लार्भा र प्युपा नष्ट नगरुन्जेल डेङ्गुको सङ्क्रमण सजिलै रोकिन्न । अहिले यो महामारीका रुपमा देशैभरी फैलिसकेको अवस्था छ । यसले भयावह रुप लिदाँ समेत यसको रोकथामप्रति चासो नजानु भनेको दुर्भाग्य हो । सुरुमै राज्यले योजना बनाएर लामखुट्टे मार्ने अभियान चलाउनु पर्ने हुन्थ्यो । अहिले धेरै ढिला भैसकेको छ । अहिले पनि त्यसको नियन्त्रणका लागि राज्य र स्थानीय निकालय प्रभावकारी पहल गरेको देखिएको छैन ।

भनेपछि रोग नियन्त्रणमा सम्बन्धित निकायको समेत पहल हुन नसक्दा झन फैलिने अवस्था भयो, होइन त ?

हेर्नुहोस् न, अहिले हरेक घरमा डेङ्गु संक्रमितछन् । एउटा परिवारमा ८ जना छन् भने त्यो परिवार नै डेङ्गुबाट संक्रमित भएको अवस्था छ । त्यो निकै जटिल अवस्था हो । मैले अघि नै भनिसकेँ । सरुवा रोग फैलिने वित्तिक्कै त्यसको रोगथाम र नियन्त्रणमा जानुपर्ने हुन्छ । त्यो नगरेकाले यो धेरै फैलियो । भएको यहि हो । यो नयाँ रोग होइन ।

विगतमा पनि त यसको रोकथामका केही उपायका प्रयास भएका थिए होलान नि ?

सन् २००७–००८ तिर राज्यले लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान चलाएको थियो । अहिलेसम्म अर्थात १२–१३ वर्षको अवधिमा भएको प्रभावकारी प्रयासको उपाय भनेको त्यति मात्रै हो । प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ । त्यसैले यस्ता चिजहरुलाई हामीले घर वरपर राख्ने गर्नुहुन्न ।

अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । अनुसन्धान अनुसार लामखुट्टेले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ । डेङ्गु सार्ने लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन । डेङ्गुबाट बच्ने सबै भन्दा राम्रो उपाय भनेको यहि हो । वयस्य लामखुट्टेको आयू एक हप्ता हुन्छ । लार्भाबाट लामखुट्टे बनेपछि त्यो करीब चार हप्तासम्म बाँच्छ । त्यसैले लार्भाको नष्ट गर्ने अभियान प्रभावकारी हुनसक्थ्यो ।

तर, अहिले त्यो पनि फाट्टफुट्ट विषादि छर्केर वयस्य लाममुखट्टे मार्ने काम भयो । त्यो प्रभावकारी काम हुँदैहोइन । त्यति मात्रै होइन यो कसरी फैलिन्छ ? यसबाट कसरी बच्ने भन्ने जस्ता जनचेतनामुलक अभियान चलाउने सन्दर्भमा पनि प्रभावकारी काम भएको देखिएन । रोग लागि हाल्यो भने कसरी बच्ने भन्ने जस्ता कुरामा पनि ध्यान दिएर जनचेतना मुलक अभियान प्रभावकारी ढंगले चलाउनु पर्ने हुन्थ्यो । त्यो पनि हुन सकेन ।

डेङ्गु रोग लागि हाल्यो भने यसको उपचार विधि के– हो ?

मैले अघि पनि भने यो रोग लागि हाल्यो भने उपाचारको विधि केही पनि छैन । डेङ्गु संक्रमण हुँदा एक्कासी अत्यधिक ज्वरो आउँछ । जोर्नी र मांसपेशी दुख्ने,टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने र आँखाको गेडी र हड्डी दुख्ने भयो भने डेङ्गु भएको हुनसक्छ । घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, पेट दुख्ने पनि डेङ्गुको लक्षण हुन । नाक र गिजाबाट रगत समेत बग्ने जस्तो लक्षण पनि देखिन्छ ।

अत्याधिक ज्वरो आउँदा ज्वरो कम गर्न सिटामोल खानेलगायत नै यसको उपाय हो । अहिलेसम्मको अवस्थालाई हेर्दा मृत्यु दर कम देखिएको छ । तर, यो दोस्रो, तेस्रो चरणतिर प्रवेश गर्दा बढी खतराको संकेत पनि देखिनसक्छ । त्यसैले यसलाई हल्का ढंगले लिने र लापरबाही गर्ने काम पटक्कै गर्नुहुन्न । बिरामीको शरीरमा रक्तकोषिकाको कमीसँगै प्लेटलेट कमी भएपछि बढी रक्तश्राव हुने र बिरामीको ज्यानै जानेसम्मको खतरा हुनसक्छ । त्यसैले यसलाई हल्का ठान्नुहुन्न । डेङ्गु भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा खानुपर्छ ।

अहिले भयावह रुप लिएको छ । यसको ओरालो लाग्ने अवस्था कहिलेसम्म होला भन्ने अनुमान गर्न सकिन्छ ?

फरक–फरक ठाउँको फरक–फरक तामक्रमले पनि फरक पार्छ । काठमाडौँको न्युनतम तापक्रम १५ डिग्री सेल्सियत भन्दा तल झरेपछि यसको फूल पार्ने क्रम रोकिन्छ ।