शुक्रबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, ९१ करोडको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबारमा दिन शुक्रबार शेयर बजार ओरालो लागेको छ ।
शुक्रबार नेप्से १४.१० अंकले ओरालो लाग्दा १९१०.३८ अंकमा रोकिएको छ ।
शुक्रबार दोहोरो अंकले गिरावट हुँदा मंगलबार र बुधबार भएको वृद्धि भन्दा उच्च गिरावट भएको छ ।
आज उपसूचकहरुमा म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । लघुवित्त, वित्त कम्पनी हाइड्रोपावर र विकास बैंक उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको शेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ । असारदेखि सातामा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।
शुक्रबार २९ लाख १६ हजार २७१ कित्ता शेयर किनबेच हुँदा ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै रिडी हाइड्रोपावरको ४ करोड २३ लाख ३३ हजारको कारोबार भएको छ ।
शुक्रबार बजारमा १८६ कम्पनीको शेयर कारोबार भएकोमा १५१ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ ।