वीरगञ्ज नाकामा अलपत्र छन् एक हजार सात सय नयाँ सवारीसाधन
वीरगञ्ज : भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।
वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन् ।
यी सबै सवारीसाधनको मुख्य नेपाली बजारमा न्यूनतम रु २० लाखदेखि एक करोडसम्मका रहेका छन् । वीरगञ्जस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति एकीकृत जाँचचौकी (आइसिपी) का प्रमुख कमल ज्ञवालीका अनुसार गत फागुन महिनादेखि एकीकृत जाँच चौकी परिसरमा यी सवारीसाधन रोकिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला सवारीसाधनमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ सवारीसाधन बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना ठूला सवारीसाधन विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन् ।