फिलिपिन्समा आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह
एजेन्सी, ९ असाेज । फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् ।
नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा ठूलाे क्षति निम्त्याउनसक्ने मौसम पूर्वानुमान विज्ञहरूले जनाएका छन् ।
फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समयअनुसार अपराह्न वा साँझमा आइपुग्ने अनुमान गरिएको छ ।
फिलिपिन्सका राष्ट्रिय प्रहरी प्रमुख जनरल रोडोल्फो अजुरिनले भन्नुभयो, “हामी खतरा क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक परेको बेला सुरक्षित स्थानमा स्थानान्तरणका लागि गरिएको आह्वानको पालना गर्न आग्रह गर्दछौं ।”
फिलिपिन्स नियमित रूपमा आँधीबेहरीको चपेटामा पर्दै आएको छ ।
फिलिपिन्समा आँधीका कारण ४०० भन्दा बढीको मृत्यु हुनुका साथै लाखौं घरबारविहीन भएको नौ महिनापछि फेरि अर्को आँधी (नोरु) आएको हो । प्रान्तीय प्रकोप कार्यालयका मेल एभेनिलाका अनुसार क्वेजोन प्रान्तका धेरै पालिकाका बासिन्दालाई घरबाट सुरक्षित स्थानमा सारिएको छ ।
जलवायु परिवर्तनको प्रभावका कारण सबैभन्दा जोखिममा रहेको फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधीबेहरी आउने गरेको छ ।
