लोप हुँदै गइरहको दशैं–मोहनीको नवरात्रि मेला
रमेश डंगाेल
काठमाडौं, ९ असोज । देशको सबैभन्दा ठूलो पर्व दशैं भोलिदेखि शुरु हुँदैछ । भोलि घटस्थापनाका दिन बिहानै घर घरमा जमरा रोपी दशैंलाई स्वागत गर्ने परम्परा छ । घटस्थापनाका दिन जमरा रोपेर यो ठूलो पर्व आरम्भ गरिन्छ भने दशमीका दिन सोही जमराका साथ टीका लगाई दशैंको प्रमुख पर्व मान्ने गरिन्छ ।
काठमाडौं उपत्यकामा भने दशैं पर्वलाई मोहनीका रुपमा मनाउने गरिन्छ । मोहनीका अवसरमा काठमाडौंका स्थानीयवासीहरु काठमाडौंका विभिन्न दश वटा नदी दोभान रहेको तीर्थस्थलहरुमा पुगेर स्नान गर्ने र सँगैको पीठमा गई पूजाआजा गर्ने परम्परा रहेको छ ।
यो परम्परालाई ‘नवरथा वनेगु’ वा ‘नवरात्रि मेला’ पनि भन्ने गरिन्छ ।
भोलि घटस्थापनाको प्रतिपदाकै दिनदेखि हरेक बिहान झिसमिसेमै एक एक वटा नदी दोभान रहेको तीर्थस्थलमा गई स्नान गर्ने र सँगैको पीठमा गई शक्ति उपासना गर्ने यो नवरथा पर्वको परम्परा हो ।
पहिले पहिले दशैंका बेला विभिन्न ठाउँमा मानिसहरु भेला भई ती तीर्थस्थलहरुमा बाजागाजा सहित पुग्ने हुँदा त्यहाँ मेला नै लाग्ने गर्दथ्यो । अहिले भने नवरथा जाने यो परम्परा करिब करिब लोप नै भइसकेको देखिन्छ ।
मोहनीको दश दिन दश वटै तीर्थस्थलहरुमा मेला भर्न जाने काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक परम्परा हो ।
पहिले पहिले नवरात्री जान स्थानीय संघ संस्थाहरुले कार्यक्रम नै आयोजना गर्ने चलन थियो । अहिले भने यो चलन पनि बन्द भइसकेको छ ।
कामपा १२ वडास्थित ह्यूमत टोलको झीगु नासः खलः नामक संस्थाले धेरै वर्षको अन्तरालपछि आजभन्दा १३ वर्ष अघि नवरात्रि मेला आयोजना गरेको थियो । त्यसपछि आजसम्म कसैले पनि यो मेला आयोजना गरेको छैन ।
नवरात्रि मेला आकाशमा तारा नबिलाउँदै अँध्यारोमै जानु पर्दछ भन्ने मान्यता छ । त्यसैले तीर्थस्थलहरुको दूरी अनुसार मानिसहरू कहीं विहान ३ बजे जाने गर्छन् भने कहीं राति १२ बजे नै हिँड्ने गर्छन् ।
नवरात्रीको समयमा विभिन्न देवगणहरु आ–आफ्नो शक्तिले सम्पन्न भएर रहेका हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले यही बेला ती देवीदेवताहरुको पूजा आराधना गर्नाले वर्षभरिका लागि शक्ति सञ्चय हुन्छ भन्ने जनविश्वास रहेको छ ।
काठमाडौंमा मनाइने मोहनी पर्वको एक विशिष्ट अंगको रुपमा विद्यमान नवरात्रि मेला जाने चलन लोप हुँदै गए सँगै अहिले काठमाडौंमा बग्ने साना नदीहरु पनि बिलाउँदै जान थालेको पाइन्छ । नदी बिलाएका कारण उक्त नदीको दोभानहरुमा आयोजना गर्नुपर्ने नवरात्रि मेला लगायत अन्य धार्मिक सांस्कृतिक परम्पराहरु पनि प्रभावित हुँदै जान थालेका छन् ।
कतिपय तीर्थहरुमा नदी सुकेर दोभान नै हराएका छन् भने कतिपय दोभानहरुमा पहिलेको तुलनामा अत्यन्त कम पानी सहित नदी बगिरहे पनि फोहोरका कारण त्यहाँ स्नान गर्न सकिने अवस्था भने रहेको देखिँदैन ।
दोभान हराएका वा अत्यन्त फोहोर पानी बग्ने तीर्थस्थलहरुमा हाल स्नानको लागि पानी ट्यांकीको व्यवस्था गरिएको पाइन्छ ।
काठमाडौंमा बग्ने बागमती, बिष्णुमती नदीको चौडाइ काटेर अहिले गाडी गुड्ने सडक बनाएका कारण अन्य ठाउँबाट बगेर आउने साना खोलाहरु हाल मुख्य नदीमा मिसिन सकिरहेको अवस्था छैन ।
मोहनीको दश दिन क्रमशः निम्न तीर्थस्थलहरुमा नवरात्रि मेला जाने चलन छ । पहिलो दिन शंकर तीर्थ (संखमुल), दोश्रो दिन निर्मल तीर्थ (विजेश्वरी), तेश्रो दिन पुण्य तीर्थ (गोकर्ण), चौथो दिन इक्षुमती तीर्थ (कालमोचन घाट), पाँचौ दिन पञ्चनारी तीर्थ (पचली), छैठौ दिन मनोहर तीर्थ (टोखा दोभान), सातौं दिन देव तीर्थ (आर्यघाट), आठौं दिन चिन्तामणि तीर्थ (टेकु दोभान), नवौं दिन लखु तीर्थ (बिष्णुमति करिडोर) र दशौं दिन शान्त तीर्थ (गुह्यश्वरी) ।
दशैं–मोहनिको सन्दर्भमा मैत्री न्यूज टिमले यी दशवटै तीर्थस्थल एवं पीठहरुको स्थलगत भ्रमण गरी तयार गरेको नवरात्रि मेलाको धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय रिपोर्ट भोलि घटस्थापनाको पहिलो दिनदेखि हरेक बिहान क्रमशः प्रस्तुत हुनेछ ।