३२ वर्ष अघि गिरिजा लखेटिएको प्युठानका कांग्रेस कार्यकर्ताको मत जनमोर्चालाई जाला ?

प्युठान, कात्तिक २ । प्युठान जिल्लामा अहिले २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित हुनुभएकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल नेपाली कांग्रेस–माओवादीसहितको गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । ०७४ को निर्वाचनमा उहाँलाई जिताउने भूमिकामा रहनु भएका एमाले नेता सूर्य थापा उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

एमालेको बलमा त्यतिबेला पौडेलले कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेललाई हराउनु भएको थियो । यो पटक पोखरेलको टिकट खोसिएको छ भने पौडेलले बाजी मार्नु भएको छ । तर, उहाँले टिकट पाए पनि जित निकाल्न भने उहाँलाई फलामको च्युरा चपाउनु जस्तै कठिन छ । अहिले पनि त्यहाँका कांग्रेसीजनहरुले ३२ वर्ष अघिको कालो इतिहासलाई भुलेका छैनन् ।

३२ वर्ष अघि के भएको थियो त ? सबै भन्दा पहिला त्यसबारे चर्चा गरौँ

देशमा भर्खरै बहुदल आएको थियो। नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला देश दौडाहामा हुनुहुन्थ्यो। प्युठानमा पनि गिरिजाबाबु आउने भन्दै कांग्रेस जिल्ला समितिले तयारी थाल्यो। यसका लागि कांग्रेसका तत्कालीन जिल्ला सभापति शिवराज सुवेदीले कार्यसमितिको बैठक बोलाउनुभयो। आजभन्दा ३२ वर्ष अगाडि अर्थात २०४७ माघ २५ मा दाङबाट खुमबहादुर खड्का, कुवेर शाहको नेतृत्वमा युवा दस्तासहित गिरिजाबाबु प्यूठान आउनु भएको थियो ।

तर, गिरिजाबाबुको यो यात्रा त्यति सुखद हुन सकेन। त्यसवेला उनले नमिठो घटनाको सामना गर्नुपर्यो । कोइरालाको उपस्थितिमा कांग्रेसले स्वर्गद्वारी क्याम्पसमा कार्यक्रम गर्ने योजना बनायो । मसाल जिल्ला नेतृत्वले पनि उक्त दिन क्याम्पसमै कार्यक्रम तय गरेपछि अवस्था असहज हुने देखियो । सर्वदलीय बैठकपछि कांग्रेसले रातामाटा स्कुलमा र मसालले चितिखोलामा कार्यक्रम गर्ने सहमति भयो ।

कांग्रेसको आमसभा मुक्ति मावि राटामाटामा हुने भयो । कांग्रेसका तत्कालीन जिल्ला सचिव शालिकराम पण्डितले कार्यक्रम अघि बढाउनुभयो। गिरिजाप्रसादले सम्बोधन गर्न थाल्नुभयो । उहाँले चर्को भाषण पनि गर्नुभयो। सो क्रममा गिरिजाप्रसादले भाषणमा भन्नुभएको थियाे, ‘माले, मसाले र मण्डले एकै हुन् । ’त्यसैबेला मसालका कार्यकर्ताबाट प्रतिकार भयो । रातामाटामा भेला भएका मसाल कार्यकर्ता कोइरालाको भाषणपछि उग्र बनेर नाराजुलुस गर्दै कांग्रेसको कार्यक्रम भइरहेको स्थानलाई वरिपरीवाट घेरा हाले । स्कुलमाथिबाट ढुंगा वर्षाए । तत्कालिन सचिव पण्डितले भन्नुहुन्छ– ‘सबैले गिरिजाबाबुलाई लक्षित गरेर ढुंगा प्रहार गर्न थाले। हामीले स्कुलको कोठामा लगेर उहालाई सुरक्षित राख्यौं।’

प्रहरीले स्थितीलाइ नियन्त्रणमा लिन अश्रुग्यास लाठीचार्ज र हवाई फायर गर्‍यो । ८–१० जना व्यक्ती घाइते भए । मसाल कार्यकर्ताले अवरुद्ध पारेको बाटो मध्यरातमा मात्रै प्रहरी र कांग्रेस कार्यकर्ता मिलेर खोलेका थिए । राति २ बजेमात्रै प्रहरीको सहयोगमा कोइराला दाङ पुग्नुभएको थियो । ‘बेलुवा ओरालोमा माथिवाट ढुंगा पल्टाएर गिरिजाबाबु चढेको गाडी अबरुद्द गर्ने र जिलेटिनले उडाउने योजना रहेछ, त्यसबेलाका प्रहरीलाई उद्धत गर्दै पण्डित भन्नुहुन्छ, ‘पछि मात्रै थाहा भयो, गिरिजाबाबुलाई समाप्त पार्ने पो योजना रहेछ ।’

घटनामा संलग्न भएको आरोपमा मसालका हरि आचार्य, चेतनाथ योगीसहित १८ जनामाथि प्रशासनले सार्वजनिक अपराधको मुद्दा लगायो । २०५४ फागुन ३ मा आचार्य, योगीसहित ११ जनाले ‘आइन्दा यस्तो सार्वजनिक अपराध ठहरिने काम गर्ने छैनौं’ भनी कागज गरेपछि मुक्त भए । गिरिजाको भाषण र त्यसको जवाफमा मसालका तर्फबाट गरिएको प्रतिकारको घटनाले त्यसबेला देशभर नै चर्चा बटुल्यो । यस घटनापछि काठमाडौं फर्केर आफ्नै पार्टीका तर्फबाट अन्तरिम गृहमन्त्री रहेका योगप्रसाद उपाध्यायको राजीनामासम्म मागे ।

शम्सेर काण्ड

२०४७ सालतिरको घटना हो। प्युठानको पुजा गाउँ राष्ट्रीय जनमोर्चाको थियो। त्यही कार्यक्रमका लागि जनमोर्चा समर्थक कार्यकर्ताले पार्टीको झण्डा बनाएर फर्कदै थिए। त्यसै क्रममा कांग्रेस कार्यकर्ता शम्सेर बहादुर केसीसँग बाटोमा भेटभयो । केसीले जनमोर्चाको झण्डा च्यातिदिनुभयो। यहि झण्डा च्यातेको निहुमा मसालले चलाएको कारबाहीमा केसी मारिए, पुजामा घटेको यो घटना शम्सेर काण्डका रुपमा अहिले पनि चर्चित छ। यस्तै,मसालको कारबाहीमा बादिकोटमा काँग्रेस समर्थक नोजबहादुर थापाको खुट्टा भाचिदिएको घटनाको समेत बेलावखतमा प्युठानवासी चर्चा गर्छन।

मसालहरुले मच्चाएको पुजाको सम्सेर हत्याकाण्ड र बादिकोटका थापाको खुट्टा भाच्ने घटना आफुले कहिलै बिर्सन नसक्ने पुर्व जिल्ला सभापती समेत रहेका पण्डित सुनाउनु हुन्छ । तिमात्र होईन, जिल्ला सदरमुकाम खलगांमा रहेको कांग्रेसको पार्टी कार्यालयको साईनबोर्ड मसाल कार्यकर्ताले हटाएको घटना समेत उहाँले कुराकानीका क्रममा स्मरण गर्नुभयो । ‘त्यतिखेर प्यूठानमा मसाल उग्र थिए, ज्यादती पनि बढी थियो,’ पण्डित भन्नुहुन्छ, ‘प्रशासनले समेत केही गर्ने अबस्था थिएन ।’

अहिले त्यहि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल नेपाली कांग्रेस–माओवादीसहितको गठबन्धनको बलमा सांसद दोहोरिन दौरानमा हुनुहुन्छ । तर, गिजिबाबु लखेटिएको र बहादुरहरु मारिएको पीडा त्यहाँका कांग्रेसीजनले भुले होलान भन्ने अवस्था छैन ।

जहाँ शंकर पोख्रेलको औला भाँचियो

२०५७ सालको कुरा हो । प्युठानको नारिकोटमा नेकपा एमालेले खुल्ला सभा आयोजना गरेको थियो। मसालबाट नारिकोट गाबिस अध्यक्षको चुनाब जितेका सर्वजित बुढाथोकीलाई प्रवेश गराउन उक्त खुल्ला सभा राखिएको थियो। त्यस कार्यक्रममा तत्कालिन एमाले केन्द्रीय सदस्य एवं राप्ती अंचल इन्चार्ज शंकर पोखरेल प्रमुख अतिथि हुनुहुन्थ्यो। सुर्य थापासहित जिल्ला समितीको पदाधिकारिको टोली पनि शंकर संगै थियो । कार्यक्रम चलिरहेकै थियो। सुर्य थापा बोल्दै हुनुहुन्थ्यो । १५–२० जनाको संख्यामा मसालका कार्यकर्ता आएर सभा बिथोल्न खोजे। एमाले तर्फबाट पनि प्रतिकार भयो। यसै क्रममा मसाल कार्यकर्ताले हानेको ढुंगा लागेर शंकर पोख्रेलको औला भाचिएको तत्कालिन जिल्ला सदस्य प्रत्यक्षदर्शी वसन्त वहादुर जिसि घटना बिबरण सुनाउनुहुन्छ ।