बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं, २ कार्तिक । देशभरका बालबालिकाहरूलाई बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ।

राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका उमेरका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइने छ। यस्तै २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ।