बाजुरामा ट्र्याक्टर दुर्घटना, तीन जनाको ज्यान गयो, चार घाइते
काठमाडौं, १२ मङ्सिर । बाजुराको जगनाथ गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको ट्र्याक्टर शुक्रबार राति दाउणामा दुर्घटनामा परेको हो । दुर्घटनामा जगनाथ गाउँपालिका–३ मनिकाँडाका धनरुप शाही, धर्म शाही र नामसरा देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा बिउरा ओड, सिद्धा ओड, सङ्गीता शाही र ट्र्याक्टर चालक नवीन बोहरा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोल्टी अस्पतालमा लगिएको छ ।
अछामको रामारोशन गाउँपालिका–४ निवासी २१ वर्षीय बोहराले चलाएको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
