सहरी महिलाहरुलाई रोजगार र स्वरोजगार बनाउन सिपमूलक तालिम र बजारदेखि सुरक्षाका लागि न्यायमा पहूँचसम्मको दृष्टिबाट नेतृत्व गर्दै कार्यवाहक प्रमुख डंगोल

लक्षित वर्गलाई उकास्ने नेतृ

काठमाडौँ,  मङ्सिर १३ । महिलाको जीवनस्तर सुधार, आर्थिक आत्मनिर्भरता र सामाजिक न्याय सुनिश्चित गर्न काठमाडौँ महानगरपालिकाले सीप विकास, उद्यमशीलता प्रवर्द्धन, महिला सञ्जाल गठन, हिंसा नियन्त्रण तथा कानुनी सहायता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरपालिकाको नेतृत्वमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला सशक्तीकरणलाई आर्थिक अवसर, सामाजिक सम्मान, निर्णय प्रक्रियामा सहभागिता र अधिकारको सुनिश्चिततासँग जोडेर अघि बढाउनुभएको छ ।

उद्यमशीलता, सीप विकास, आर्थिक आत्मनिर्भरता, हिंसाविरुद्ध संस्थागत संयन्त्र र कानुनी पहुँच विस्तारमा जोड; कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा महिला लक्षित कार्यक्रमलाई थप व्यवस्थित बनाउने प्रयास

महिलाको सशक्तीकरणलाई केवल तालिम र सचेतनामा सीमित नगरी उनीहरूले सिकेको सीपलाई आम्दानीसँग जोड्ने प्रयास महानगरका कार्यक्रमको महत्वपूर्ण पक्ष देखिन्छ । विशेषगरी गृहिणी, सीप भएर पनि अवसर नपाएका महिला र आर्थिक रूपमा कमजोर महिलालाई उत्पादन तथा उद्यममा जोड्ने उद्देश्यले ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सञ्चालन गरिएको छ ।

सीपलाई आम्दानी र उद्यमसँग जोड्ने प्रयास

महानगरपालिकाले महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत परम्परागत सीप, घरेलु उत्पादन र स्थानीय सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्ने काम भइरहेको छ ।

महानगरपालिकाको सामाजिक विकास विभागको विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा १५ वटा वडाका ३०८ महिलालाई सीपमूलक तालिम प्रदान गरिएको थियो । त्यसैगरी सातवटा वडाका १३६ महिलालाई उद्यमशीलता तालिम दिइएको थियो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत दुईवटा वडामा सञ्चालित कार्यक्रमबाट ३१ महिला प्रत्यक्ष रूपमा उद्यमशीलतामा आबद्ध भएका छन् । तालिम प्राप्त महिलामध्ये करिब २२ प्रतिशत रोजगारी क्षेत्रमा जोडिएको महानगरको तथ्याङ्क छ ।

कार्यक्रमअन्तर्गत महिलालाई गुन्द्रुक, मस्यौरा, अचार, पोते तथा क्रिस्टलका गहना, फेल्टका सामग्री, सेरामिक्स, दुना–टपरी, रुद्राक्षका माला तथा धूपलगायत उत्पादन गर्न प्रोत्साहित गरिएको छ । सीप सिकाएर मात्र नछाड्ने उद्देश्यले उत्पादित सामग्रीको बजारीकरणका लागि बिक्री तथा प्रदर्शनी कक्ष र वडास्तरीय कोसेली घरको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

कार्यवाहक प्रमुख डंगोलले उद्यमी महिलालाई प्रोत्साहन गर्न निश्चित सूचकका आधारमा ९५ प्रतिशतसम्म कर छुटको व्यवस्था गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार महिलाको आर्थिक सशक्तीकरणका लागि उनीहरूको आफ्नै आम्दानी आवश्यक छ । त्यसैले घरभित्र सीमित रहेका सीपलाई उत्पादन र व्यवसायमा रूपान्तरण गर्ने नीति महानगरले अघि सारेको हो ।

महिला समूहबाट सामूहिक बचत र नेतृत्व विकास

महिलालाई आर्थिक गतिविधिमा मात्र नभई सामाजिक तथा सामुदायिक नेतृत्वमा समेत सक्रिय बनाउन महानगरपालिकाले महिला विकास समूह र समिति गठन गरेको छ ।

महानगरपालिकाभित्र हाल ३५ वटा महिला विकास समिति र तीअन्तर्गत पाँच-पाँच सदस्य रहने गरी करिब ६०० समूह गठन भएका छन् । ती समूहमा तीन हजारभन्दा बढी महिला आबद्ध छन् । समूहका सदस्यले मासिक रूपमा १०० देखि ५०० रुपैयाँसम्म बचत गर्ने र प्रत्येक दुई वर्षमा ब्याजसहित बचत रकम फिर्ता लिने व्यवस्था छ । नियमित बैठक, सामूहिक बचत, सीपमूलक तालिम र सामाजिक गतिविधिमार्फत महिलाको आर्थिक कारोबार, आत्मविश्वास र निर्णय क्षमतामा सुधार ल्याउने प्रयास गरिएको छ ।

महानगरपालिकाका अनुसार समूहमा आबद्ध भएपछि महिलाहरू घरबाहिर निस्केर सामाजिक गतिविधिमा सहभागी हुने, आफ्नो उत्पादन बिक्री गर्ने र अन्य समूहसँग अनुभव आदानप्रदान गर्ने अवसर पाएका छन् । कतिपय समूहले साबुन, सरफ, फिनेललगायत दैनिक उपभोग्य सामग्री आफैँ उत्पादन गरी व्यवसायसमेत सञ्चालन गरेका छन् ।

हिंसाविरुद्ध वडा तहसम्म संस्थागत संयन्त्र

महिलाको जीवनस्तर सुधारमा आर्थिक आत्मनिर्भरता जत्तिकै महत्वपूर्ण पक्ष सुरक्षा र न्यायमा पहुँच हो । यसलाई ध्यानमा राखेर महानगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको संरक्षणका लागि वडा तहसम्म महिला सञ्जाल परिचालन गरेको छ ।

महानगरपालिकाले महिला सञ्जाल गठन तथा सञ्चालन कार्यविधि र लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि लगायतका कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । वडा महिला सञ्जालमार्फत हिंसा, शोषण, विभेद र अन्यायमा परेका महिलाको समस्या पहिचान, परामर्श, न्यायमा पहुँच तथा पुनःस्थापनाका लागि सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

कार्यवाहक प्रमुख डंगोलले हिंसापीडित महिलालाई तत्काल राहत र पुनःस्थापनाका लागि वडा महिला सञ्जाल प्रभावकारी माध्यम बन्न सक्ने बताउँदै यस्ता सञ्जाललाई सक्रिय बनाउन जोड दिँदै आउनुभएको छ । उहाँले हिंसापीडितलाई स्वास्थ्य उपचार, कानुनी सहायता र मनोसामाजिक परामर्श एकैसाथ उपलब्ध गराउन एकद्वार सङ्कट व्यवस्थापन केन्द्रसँग सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको छ ।

काठमाडौँका पाँच अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत हिंसापीडितलाई स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित आवास, कानुनी सहयोग र जीविकोपार्जनसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था रहेको महानगरको विवरणमा उल्लेख छ ।

किशोरीलाई आत्मरक्षा तालिम

महिलामाथि हुने हिंसा नियन्त्रणका लागि घटना भएपछि उपचार र न्याय दिलाउनुका साथै हिंसा हुनुअघि नै सचेत र प्रतिरोध गर्न सक्ने बनाउनु पनि आवश्यक छ । यही उद्देश्यले महानगरपालिकाले सामुदायिक विद्यालयका किशोरीलाई आत्मरक्षा तालिम दिने कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरको शिक्षा विभागले पहिलो चरणमा १० वटा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४०० छात्रालाई आत्मरक्षा तालिम दिने कार्यक्रम अघि सारेको थियो । प्रत्येक विद्यालयबाट ४० जना छात्रा सहभागी हुने गरी सञ्चालन गरिएको दुईदिने तालिममा हिंसाको पहिचान, गलत नियतबाट हुने व्यवहार बुझ्ने र सम्भावित आक्रमणबाट आफ्नै हातखुट्टाको प्रयोग गरी बच्ने व्यावहारिक सीप सिकाउने व्यवस्था गरिएको थियो । कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरी थप विद्यार्थीमा विस्तार गर्ने योजना पनि महानगरले अघि सारेको थियो ।

रोजगारी, सामाजिक सुरक्षा र अधिकारमा पहुँच

महानगरपालिकाले महिला लक्षित सीप विकास र उद्यमशीलतासँगै रोजगारी तथा सामाजिक सुरक्षाका कार्यक्रम पनि सञ्चालन गरेको छ । महानगरको विवरणअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३७ महिलालाई रोजगारी प्रदान गरिएको थियो भने रोजगार सेवा केन्द्रमार्फत २० महिलालाई इलेक्ट्रिकल रिपेयरिङसम्बन्धी तालिम दिइएको थियो ।

त्यस्तै, आर्थिक रूपमा कमजोर र जोखिममा रहेका महिलालाई लक्षित गरी ‘साथी महानगर’ गौरव योजनामार्फत सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ । जोखिममा रहेका सुत्केरीलाई पोषण तथा लत्ताकपडा र अपाङ्गता भएका महिलालाई आवश्यकताका आधारमा सहयोग गर्ने कार्यक्रम पनि महानगरले सञ्चालन गर्दै आएको छ ।

आगामी नीति तथा कार्यक्रममा महिला सशक्तीकरणलाई प्राथमिकता

कार्यवाहक प्रमुख डंगोलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अन्य पछाडि परेका समुदायका लागि लक्षित सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

‘एक वडा, एक नमूना कार्यक्रम’ लाई संस्थागत गरी प्रभावकारी र दिगो बनाउने, महिलाको उद्यमशीलता प्रवर्द्धन गर्ने तथा सीप, ज्ञान र परम्परागत कलालाई आर्थिक अवसरसँग जोड्ने विषयलाई नीतिगत प्राथमिकता दिइएको छ । मातृ तथा शिशु स्वास्थ्य सेवामा विशेष कार्यक्रम सञ्चालन गर्ने र सार्वजनिक स्थानमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्ने विषय पनि महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ ।

उपलब्धिसँगै चुनौती 

त्यस्तै, तालिम प्राप्त महिलालाई उत्पादनको गुणस्तर, बजार पहुँच, पुँजी, प्रविधि र व्यवसाय सञ्चालनमा निरन्तर सहयोग उपलब्ध गराउनुपर्ने चुनौती पनि छ । महिला सञ्जालको सक्रियता सबै वडामा समान छ कि छैन र कानुनी तथा मनोसामाजिक सेवा आवश्यक परेका महिलासम्म पुगेको छ कि छैन भन्ने विषयमा नियमित अनुगमन आवश्यक देखिन्छ ।

कार्यवाहक प्रमुख डंगोलले महिला सशक्तीकरणलाई आर्थिक आत्मनिर्भरता, नेतृत्व विकास र सामाजिक न्यायसँग जोडेर नीतिगत तथा कार्यक्रमगत प्राथमिकता दिनुभएको छ । अब महानगरको चुनौती भनेको यी कार्यक्रमलाई अझ विस्तार गर्नु मात्र होइन, तिनबाट महिलाको जीवनमा आएको परिवर्तनलाई मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *