स्थानीय तहको निर्वाचनमा पार्टीका सबै नेता-कार्यकर्ता एकजुट भएर लाग्नुपर्छः महामन्त्री पौडेल

काठमाडौँ,  मङ्सिर १२ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता एकजुट भएर सङ्गठन परिचालनमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रममा उहाँले लोकतन्त्रको स्थायित्व र मुलुकको विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री पौडेलले पार्टीका वडा र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको तथा जिल्ला र प्रदेश अधिवेशन पनि छिट्टै सम्पन्न हुने जानकारी दिनुभयो । पार्टीको १५औँ महाधिवेशनमा विभिन्न पदमा पराजित भएका उम्मेदवारलाई निराश नभई आगामी दिनमा निर्वाचित हुने लक्ष्यसहित सङ्गठन र जनताको सेवामा सक्रिय हुन उहाँले आग्रह गर्नुभयो ।

“जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ । जनताका मुद्दामा कांग्रेस सधैँ अग्रपङ्क्तिमा रहनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय तथा बलिदान र समर्पणको इतिहास बोकेको पार्टी भएको उल्लेख गर्दै महामन्त्री पौडेलले पार्टी शासन गर्न नभई जनताको सेवा गर्न स्थापना भएको बताउनुभयो । बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग कांग्रेसको विचारले निर्माण गरेको र अहिले विगतमा आलोचना गर्ने तथा फरक राजनीतिक धारका शक्तिसमेत यही व्यवस्थालाई स्वीकार गरेर अघि बढेको उहाँको भनाइ थियो ।

उहाँले स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकको विश्वास जित्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन तथा न्यायका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । जनतासँग प्रत्यक्ष जोडिएर निर्वाचन लक्षित सङ्गठन परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कांग्रेस काठमाडौँ महानगरका सभापति इन्जिनियर सुशन वैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ का सभापति तथा क्षेत्र नं ६ अन्तर्गतका १५ वटै वडाका सभापतिलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *