सुनिता डंगोलको अर्को माइलस्टोन, उनकै पालामा अटिज स्कुल तथा रिसर्च सेन्टरको शिलान्यास (भिडियो रिपोर्ट)
काठमाडौं, १२ मङ्सिर । आज भन्दा १४ वर्ष अघि सुनिता डंगोलसँग म काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर बन्छु भन्ने कुनै सपना थिएन् । तर, अटिजम वा शारीरिक अशक्तताकै कारण शिक्षाबाट वञ्चित भएका बालबालिका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भने छाल जस्तै उर्लिरहेको थियो ।
यो १४ वर्षमा बागमती, विष्णुमती, रुद्रमती र टुकुचामा लाखौँ घनमिटर पानी बग्यो र ढल पनि । हो, अहिले त्यहि टुकुचाको नजिकै काठमाडौं महानगरपालिकाको मुख्यालय छ अनि त्यहि मुख्यालयमा हुनुन्छ, सुनिता डंगोल ।
१४ वर्षको अन्तरालमा काठमाडौंमा धेरै परिवर्तनहरु भए । भविष्यको डोरोलाई कता डोर्याउने होला भन्ने अन्योलका बिच अभियन्ता र सञ्चारकर्ममा आफूलाई समर्पित गर्दै आउनु भएकी उनै डंगोल अहिले मिस नेवाः उपपेयर हुँदै नेपालकै सबै भन्दा शक्तिशाली महाहनगरपालिकाको कार्यबाहक मेयरको जिम्मेवारीमा हुनुहुन्छ ।
हो, उहाँ अहिले कार्यबाहक मेयर रहेका बेला उहाँलाई एउटा गज्जबको संयोग मिलेको छ अर्थात १४ वर्ष अघि बुनेको सपनाले मूर्तरुप प्राप्त गरेको छ र अटिजम वा शारीरिक अशक्तता भएका बालबालिकाका लागि एउटा कोशेढुंगा बनेको डंगोलले नै शिलान्याश गरेको ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’को भवन ।
काठमाडौं महानगरपालिका वडा–२९ को भवनकै समीपमा रहेको खाली जमिनमा मंसिरको दोस्रो हप्ताको बुधबार ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’को भवन शिलान्यास गर्दै गर्दा डंगोलको मुहार पनि बिहानको घाँम जस्तै चहकिलो बनेको थियो ।
सायद कुनैबेलाको हुटहुटीलाई आफैँले निर्णय गरेर अघि बढाउन पाउँदाको खुशीको पल लुकाउन नसकेर पनि होला उहाँ शिलान्यासस्थलमा भेटिएका सबैसँग प्रसन्न मुद्रामा देखिनुभएको थियो ।
त्यसो त उहाँले शिलान्यासपछिको सम्वोधनमा पनि १४ वर्ष अघिको योजनाले सार्थकता पाउँदा आफु भावुक भएको भन्दै १४ वर्ष अघिको योजना सुनाउँदा उहाँ पटकपटक भावुक हुनुभयो ।
उहाँले अटिजम वा शारीरिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् त ? भनेर समाजमा गरिने प्रश्न नै गलत भएको भन्दै हाम्रो शिक्षा प्रणालीले हरेक बालबालिको आवश्यकता फरक छ भनेर फरक आवश्यकतालाई सम्वोधन गर्ने शिक्षा प्रणाली बनाउन सक्यो कि सकेन भन्ने प्रश्न महत्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो ।
उहाँले सबैले परिकल्पना गरेको मानवताको सहर र करुणको सहरमा ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ स्थापना गरेर एउटा इट्टा थप्ने काम काठमाडौं महानगरपालिकाले गरेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा अटिजम वा शारीरिक अपाङ्गता भएका बालबालिकाको समर्थनमा ‘हामी सबै सँगै छौँ’ भन्ने सन्देशका लागि सेतो कागजमा विभिन्न रंगमा हत्केला चापेलेर ‘पञ्जा छाप अभियान’ चलाइएको थियो । त्यो अभियानमा बालबालिका, अभिभावक र सो क्षेत्रका अभियन्ताहरुसँगसँगै डंगोले पनि सहभागी हुनुभएको थियो । र्सिजनात्मकतामार्फत ती बालबालिकाको पहिचान, भावना र समाजमा उनीहरुको उपस्थिति जनाउने त्यो अभियानको दृष्य दिल छुने खालको थियो ।
आशाको किरण बोकेर कार्यक्रममा आएका अटिजम वा शारीरिक अपाङ्गता भएका बालबालिकाका अभिभावक र सो क्षेत्रमा काम गरिरहेका अभियान्ताहरुको मुहारमा पनि एक प्रकारको खुशी देखिएको थियो ।
त्यहाँ उपस्थित सबै अभिभावकको एउटै आवाज थियो । महानगरपालिका हाम्रा लागि अभिभावक मात्र होइन जीवनदाता नै बनेर आएको छ । कार्यक्रममा अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यले पनि महानगरपालिकाले थालेको प्रशंशायोग्य कामको तारिफ गर्नुभयो । वडाध्यक्ष कुशकुमार ढकालले आफ्नै वडामा यस्तो केन्द्रको स्थापना हुँदा खुशी लागेको भन्दै उल्लेख भन्नुभयो ।
अभानी फाउन्डेसन, फ्रेण्डस् अफ प्यारेन्टस अफ चिल्ड्रेन विथ अटिजम, नेपाल अटिजम विद्यालय, असंवादी कल्याण संघ, निर्मल बाल विकास विद्यालय, किवानिज इन्टरनेशनल लगायतका संघसंस्थाका प्रतिनिधिले पनि महानगरको उदाहरीय कामको खुलेर प्रशंसा गरेका थिए । वडा सचिव शम्भु बरालले, भवन निर्माण कार्यले लोककल्याणकारी राज्यको गहन सन्देश प्रवाह भएको बताउनुभयो ।
