मापदण्ड विपरीत सञ्चालित हेटाैंडा मोडेल अस्पतालमा सिलबन्दी

हेटाैंडा, ३ कार्तिक । सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाैंडाको एक अस्पतालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेका छन् ।

कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटाैंडा मोडेल अस्पतालले मापदण्डविपरीत सञ्चालन गरेकाे पाएपछि सिलबन्दी गरिएको हो ।

सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेर्सी तथा ल्याब सञ्चालन गरेकाे, साथै अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गर्दै आएकाले शल्यक्रिया नगर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहरमैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ । अधिकृत न्यौपानेको नेतृत्वमा खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहको थियो ।

अस्पताल सञ्चालकलार्ई आवश्यक कागजातसहित १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।