नवौँ राष्ट्रिय खेलकुद पाेखरामा समापन, १०औँ संस्करण कर्णालीमा हुने ।

कास्की, ४ कात्तिक । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालामा समापन गरिएको छ ।

नवौँ राष्ट्रिय खेलकुदकाे समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औँ राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्नुभएकाे हाे ।

१०औँ राष्ट्रिय खेलकुद आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा हुनेछ । विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशले १०औँ संस्करणको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ ।

गण्डकी प्रदेशका आठ जिल्लामा गतअसोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका ३६ खेल सञ्चालन भए । केही गुनासा, केही अभाव र अव्यवस्थाका साथ गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुद सम्पन्न गरेको हो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बन्यो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा पनि आर्मी सर्वाधिक पदक जितेर च्याम्पियन बनेको थियो । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो ।

पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्यसहित दुई सय १९ पदक जितेर द्वितीय भएको छ । नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्येमा पहिलो हुन सफल भयो ।

गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदकसहित छैटौँ भएको छ ।

सुदूरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्यसहित ६३ पदक जित्न सफल भयो । एनआरएनएले १० स्वर्ण, नौ रजत र सात कास्य गरी कुल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ ।