एसिया कप राइजिङ स्टार्स : युएईलाई ६ विकेटले हराउँदै नेपालको पहिलो जित
काठमाडौँ, ६ मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यो उनको एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा दशौँ अर्धशतक हो ।
त्यस्तै, मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए । युएईका मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमा समेटिएको थियो । उसका मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन विकेट लिए । राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।
यसअघि पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले युएईलाई हराउँदै पुनरागमन गरेको हो । जितसँगै नेपालले दुई अङ्क जोडेको छ र समूह ‘बी’ को तेस्रो स्थानमा छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।
