सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि
धनगढी, ६ मङ्सिर । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले सातौँ संस्करणको ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ आगामी पुस २१ गतेदेखि आयोजना गर्ने भएको छ।
क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गरी पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढी रङ्गशालामा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप सञ्चालन गर्ने जानकारी दिएको हो। प्रतियोगितामा अन्तर्राष्ट्रियसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष योगेन्द्र चन्दले बताउनुभयो।
क्लबका महासचिव प्रकाश शाहीका अनुसार सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै युवामा फुटबलप्रतिको आकर्षण बढाउने र खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु ११ लाख पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई रु १० हजार पुरस्कार दिइनेछ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले विसं २०७३ देखि धनगढीमा खप्तड गोल्डकप आयोजना गर्दै आएको छ।
