दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

सुर्खेत, ६ मङ्सिर । बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न उपसमितिहरू तयारीमा जुटेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालालाई मुख्य केन्द्र बनाएर तयारीका काम भइरहेका छन्। प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको नेतृत्वमा विभिन्न बैठक, छलफल तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ।

प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेत आउने खेलाडी, प्रशिक्षक, अफिसियल, अतिथि तथा दर्शकको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ। वीरेन्द्रनगरका बजार क्षेत्रमा प्रतियोगिताको प्रचारप्रसारका लागि माइकिङसमेत भइरहेको छ।

दसौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। यद्यपि, प्रतियोगिताअन्तर्गतका मुख्य खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्। प्रतियोगिताको समापन मङ्सिर २७ गते सुर्खेतमै हुनेछ।

प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन्। खेलहरू कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका नेपालगन्ज र बर्दियामा सञ्चालन हुनेछन्। सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने सल्यान र बर्दियामा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुनेछन्।

मुख्यमन्त्री शाहीका अनुसार प्रतियोगिताका अधिकांश खेलस्थल तयारी अवस्थामा छन्। सामान्य मर्मतबाहेक आवश्यक पूर्वाधारको काम सम्पन्न भइसकेको र खेल सामग्री आउने क्रम जारी रहेको उहाँले बताउनुभयो।

प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मुख्य प्रतियोगितास्थल, चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरी निगरानीको व्यवस्था मिलाइएको छ। सहभागी खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीका लागि पर्याप्त होटल तथा आवासको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितालाई व्यवस्थित बनाउन राखेपको टोली सुर्खेतमा परिचालित छ। विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले जानकारी दिनुभयो।

एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

दसौँ राष्ट्रिय खेलकुदमा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। राखेपका अनुसार ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी ७४० खेलाडी सहभागी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्।

प्रतियोगिताका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक परिचालन हुनेछन्। यसबाहेक ३४९ स्थानीय सहयोगी तथा खेल सङ्घका ९६ प्रतिनिधि पनि परिचालन हुने राखेपले जनाएको छ।

पदक विजेता खेलाडीलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले रु २० हजार, रजतले रु १५ हजार र कास्य विजेताले रु आठ हजार प्राप्त गर्नेछन्। टोली स्पर्धातर्फ स्वर्ण विजेताले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार पाउनेछन्।

औपचारिक उद्घाटनअघि नै विभिन्न १० खेल सञ्चालन हुनेछन्।

लुम्बिनीमा चार खेल

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत लुम्बिनी प्रदेशमा चार खेल सञ्चालन हुनेछन्। बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल आयोजना हुनेछन्।

खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो।

नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी तथा सुटिङ सञ्चालन हुनेछ। बर्दियाको ठाकुरबाबा नगरपालिका–भूरीगाउँस्थित कभर्ड हलमा खोखो तथा गुलरियास्थित कभर्ड हलमा टेनिस खेल सञ्चालन गरिनेछ।

यसअघि पहिलो राष्ट्रिय खेलकुद २०३८ सालमा काठमाडौँमा आयोजना भएको थियो। त्यसपछि पोखरा, वीरगन्ज, नेपालगन्ज, काठमाडौँ, सुदूरपश्चिम, पूर्वाञ्चल र लुम्बिनीमा क्रमशः राष्ट्रिय खेलकुद आयोजना हुँदै आएको छ। नवौँ राष्ट्रिय खेलकुद २०७९ सालमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *