काठमाडौं क्षेत्र नं. ८(१) का उम्मदेवार राजेश शाक्य: हनुमानढोका क्षेत्रका सबै सम्पदा पुनर्निर्माण गर्न सफल

मेरो कार्यकालमा प्रतिवद्धता गरेका १४ मध्ये १३ वटा काम पूरा गरेँ, यहि मेरो जितको आधार होः राजेश शाक्य

काठमाडौँ क्षेत्र नम्बर ८ (१) मा काठमाडौँ महानगरपालिकाका भित्री सहरका पाँच वटा वडा १३, १९, २०, २३ र २४ रहेका छन् । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका पनि यहि क्षेत्रमा रहेको छ ।

शाक्यकै संयोजकत्वमा काष्ठमण्डप जस्तो सम्पदा पुर्ननिर्माण सम्पन्न हुनुमा सम्पदा क्षेत्रमा यो एक उदाहरणीय र अभुर्तपूर्व कार्यका रुपमा लिएको छ । यो चानचुन्ने कुरा थिएन तर कोरोनाको महामारी वीच पनि उहाँले यस्तो महत्वपुर्ण सम्पदा समयमै सम्पन्न गर्नु साच्चीकै तारिफ योग्य विषय हो । यतिमात्र होइन उहाँले सातौं शताब्दीकै प्रविधि अपनाएर उक्त सम्पदा पुर्ननिमार्ण गर्नुलाई  सम्पदा पुर्ननिर्माणको क्षेत्रमा सबैको लागि  उदाहरणीय कार्य बनेको सम्पदावीदहरु भन्छन् ।

०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेले नै जित हात पारेको थियो भने केन्द्रबाट पनि एमाले नै विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले एक्लै निर्वाचन लडेको थियो । यति हुँदा पनि गठबन्धन थोरै मतले मात्रै अघि छ । त्यसकारण पनि यो क्षेत्रबाट एमालेलाई जित सहज हुने अनुमान गरिएको छ । यो क्षेत्रबाट यो पटक पनि निवर्तमान प्रदेश सांसद राजेश शाक्य नै उम्मेदवार बन्नुभएको छ । उहाँले पाँच वर्षमा गरेको कामको आधारमा पनि उहाँको जित सहज हुने अनुमान छ । शाक्यसँग मैत्रीन्युजले गरेको निर्वाचन केन्द्रित कुराकानीः

चुनावी प्रचार अभियान कस्तो भैरहेको छ ?

निर्वाचनको नियमले मिल्ने ढंगबाट हामी चुनवी प्रचार–प्रसार अभियानलाई अघि बढाइरहेका छौँ । अहिले मुख्य गरेर मतदातासँग नियमित भेटघाट गर्ने, यो पाँच वर्षमा हामीले गरेका कामबारे जानकारी गराउने, संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउने जस्ता कार्यलाई हामीले प्राथमिकता दिएका छौँ ।

तपाईँ बागमती प्रदेशको संस्थापक प्रदेश सांसद हुनुहुन्छ । दोस्रो पटकका लागि फेरि तपाईँ चुनावी अभियानमा मतदातको घरदैलोमा पुग्दै गर्दा प्रतिक्रिया चाँहि कस्तो पाउनु भएको छ ?

तपाईँले महत्वपूर्ण प्रश्न गर्नुभयो । हो, म बागमती प्रदेशको संस्थापक सांसद हुँ । अहिले दोस्रो पटकका सांसदका लागि अहिले उम्मेदवार बनिरहेको छु । यहि सन्दर्भमा म मतदातासँग मतको अपेक्षासहित भेटघाटमा छु । यसरी भेटघाटका सन्दर्भमा मैले मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु । धेरै मतदाताहरुले विगतमा भोट दिएर विजयी बनाएपछि जनप्रतिनिधिसँग अर्को निर्वाचनमा मात्रै भेटघाट हुन्थ्यो ।

तर, राजेश शाक्यलाई निर्वाचित बनाएर पठाएपछि पनि हामीले खोजेको बेला र चाहेको बेला भेट्न सकेका छौँ । हाम्रा हरेक समस्यामा सहयोगी बनेर आउने राजेश शाक्यलाई यो पटक पनि विजयी बनाउनुपर्छ भन्ने धेरैको मत पाएको छु । यसले मलाई थप उत्साहित बनाएको छ । जतिबेला सम्पर्क गर्दा पनि फोन उठाउने र पीर–मार्कामा सहयोगी बन्ने जनप्रतिनिधि भनेर उहाँहरुले थप खुशी व्यक्त गर्नुभएको छ । उहाँहरुले मेरो पाँच वर्षे कार्यकालमा गरेका विकास निर्माणका कामलाई पनि नजिकबाट नियाल्नु भएको मैले पाएँ । उहाँहरु समग्रमा भन्ने हो भने खुशी हुनुहुन्छ ।

काठमाडौँ कला, सस्कृति र सम्पदाको धनी जिल्ला हो । त्यसमा पनि भित्री सहरको छुट्टै ऐतिहासिक महत्व छ । तपाईँ यहिँबाट सांसद बन्दै गर्दा यहाँको कला, संस्कृति र सम्पदाको संरक्षण र सम्र्वद्धनमा कस्तो भूमिका रहयो ?

मैले ०७४ को निर्वाचनमा उम्मेदवार बन्दा प्रतिवद्धता व्यक्त गरेका १४ मध्ये १३ वटा प्रतिववद्धता पूरा गरेको छु । मेरो पहिलो प्रतिवद्धता ०७२ सालको भूकम्पले क्षति भएको विश्वसम्पदासूचिमा सूचिकृत हनुमानढोका क्षेत्रका सबै सम्पदा पुनर्निर्माण गर्छु भनेको थिएँ । त्यो प्रतिवद्धता अनुसार संघीय सरकार र स्थानीय सरकारको समेत सम्वन्वयमा सम्पूर्ण सम्पदा पुनर्निर्माण गर्ने काम सम्पन्न भएको छ ।

वडा नम्बर १२, १८, १९ र २० मा रहेको विष्णुखोला करिडोर लामो समयदेखि जीर्ण अवस्थामा थियो । मेरो कार्यकालमा त्यो बाटो कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । कालिमाटी–टंकेश्वरको बाटो पनि जीर्ण अवस्थामा थियो । त्यो बाटो निर्माण गर्ने कार्य पनि सम्पन्न भएको छ । स्वास्थ्यको क्षेत्रमा पनि मेरो कार्यकालमा केही महत्वपूर्ण काम भएका छन् ।

पूर्वाधार, सम्पदा र स्वास्थ्य बाहेक अन्य क्षेत्रमा पनि त तपाईँले यो पाँच वर्षमा केही गर्नुभयो होला नि ?

निश्चय पनि, शिक्षाको सन्दर्भमा कुरा गर्दा ज्ञानोदय स्कुलको मेरै कार्यकालमा सुविधासम्पन्न हल निर्माण भएको छ । मेरो क्षेत्रमा पर्ने सामूदायिक र सरकारी विद्यालयमा ल्यापटपलगायतका सामग्री वितरण गर्ने, पूर्वाधारको व्यवस्था गर्ने जस्ता काम भएको छ । पञ्चकन्या, विद्योदयलगायतका विद्यालयलाई सूचना–प्रविधिमैत्री बनाउने सन्दर्भमा प्रयोगशालालाई थप व्यवस्थित बनाउने काम भएको छ । खेलकुदलगायतका क्षेत्रमा पनि हाम्रो कार्यकालमा युवाहरुलाई प्रोत्साहन गर्न व्याटमिण्टन खेल्न कभर्ड हल निर्माण गर्नेलगायतका काम गरेका छौँ । युवाहरुका लागि कम्फू, कराँतेका लागि पनि हामीले केही व्यवस्थापन गरेका छौँ ।

वृद्धवृद्धाहरुका लागि योगा भवन बनाइ दिएका छौँ । ऐतिहासिक सम्पदा निर्माणका लागि धेरै काम गरेका छौँ । टंकेश्वरको जाम कम गर्न पक्की पुल निर्माण गरेका छौँ । ऐतिहासिक यटखा बहालमा करीब ३ सय वर्ष अघिदेखि पुनर्निर्माण हुन नसकेको ऐतिहासिक विहारलाई टोलबासीको सहित सक्रियतामा पुनर्निमाण सम्पन्न गर्ने काम भएको छ । १३ नम्बर वडामा पानीको ठूलो समस्या थियो । त्यो हल गर्न डीप वोरिङ गरेर त्यो समस्या समाधान गरिएको छ । १९ नम्बर वडामा पनि पानीको व्यवस्थापनका लागि पहल भैरहेको छ । संकृतिको उत्थानका लागि बाजागाज वितरण गर्नेलगायतका काम पनि मरो पहलमा भएका छन् ।

त्यस्तै नेपाली लिपिको रञ्जना लिपिलाई राष्ट्रिय लिपिको परिचय दिने कुरामा हामीले निकै ठूलो पहल गरेका छौँ । यो लिपिको उत्थान र प्रवद्र्धनका लागि प्रदेशसभाबाट मरो पहलमा ५० लाख विनियोजन गर्ने काम भएको छ । यी र यस्ता धेरै काम म सांसद निर्वाचित भएपछि गरिएको छ । त्यसकारण मेरो यो क्षेत्रबाट जित्ने मुख्य आधार भनेको मैले गरेको काम हो भन्ने लागेको छ । म मतदाताका विचमा जाँदा मतदाताले मलाई ‘तपाईँ बोलेको कुरा पूरा गरेर छाड्नु हुन्छ, तपाईँ सरल हुनुहुन्छ’ भनेर मेरो जितका लागि शुभकामना दिनुभएको छ । यो पनि मेरो जितको आधार हो भन्ने ठानेको छु ।

यी त भए तपाईँले पाँच वर्षमा गरेका काम । मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार बन्दै गर्दा तपाईँले विजयी भएपछि गर्ने योजना पनि त होलान नि ?

अबको उम्मेदवार मेरो किन ? भन्ने सन्दर्भमा सबै भन्दा पहिला त मैले अघि पनि भने मैले पाँच वर्षमा गरेको काम र मेरो कामबाट सन्तुष्ट काठमाडौँ क्षेत्र नम्बर ८ (१) का मतदाताको फेरि तपाईँ दाहोरिनुपर्छ भन्ने आग्रह हो ।

त्योसँगै म विजयी भएपछि पहिला गर्दै गरेका अधुरा कामलाई पूरा गर्ने मेरो अर्को दायित्व हुनेछ । तेस्रो भनेको मैले प्रदेशसभामा रहेर पाँच वर्ष काम गरेँ । अब प्रदेशमा मैले नेतृत्वदायी भूमिका खेल्नेछु । जस्ले गर्दा मेरो क्षेत्र र समग्र प्रदेशका लागि पनि मैले सकारात्मक भूमिका खेल्न सक्नेछु ।

नेपालको संविधानले प्रत्येक प्रदेशमा तीन वटा भाषा प्रयोग गर्न सकिने भनेको छ । त्यसको आधारमा बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई कामकाजको भाषा प्रयोग गर्न मिल्छ । यसमा सकारात्मक पहल गर्न पनि मेरो उम्मेदवारी रहन्छ । रञ्जना लिपिको उत्थान र प्रवद्र्धन गर्दै नेपाल सम्वत् र रञ्जना लिपिलाई सरकारी कार्यालयमा चलनचल्तीमा ल्याउन पनि मेरो पहल हुनेछ ।

मेरो निर्वाचन क्षेत्र नेपालको राजधानी काठमाडौँ र काठमाडौँको पनि राजधानी हनुमानढोकामा पर्छ । त्यसैले हनुमानढोकाको गुरुयोजना बनाएर काम गरी हनुमानढोका जस्तो विश्वसम्पदासूचिमा सूचिकृत सम्पदलाई विश्वसामू चिनाउने योजना छ । स्थानीय सीपको प्रर्वद्धन गर्दै स्थानीय रोजगार सिर्जनका लागि पनि मेरो उम्मेदवारी हो ।