भारतबाट आयातित तस्विरले विस्थापित हुँदैछ चित्रकारहरुले हातैले बनाउने धनलक्ष्मीको तस्विर

एस आस छिपा

काठमाडौं, ७ असोज । तिहार लागेसँगै झिलिबत्तीका साथ हाम्रो घरघरमा लक्ष्मी भित्रिन्छिन्। तर के तपाईंलाई थाहा छ हामीले पूजा गर्ने अधिकांश लक्ष्मीका तस्विर भारतमा छापिन्छ भनेर। हाल काठमाडौंमा बिक्री हुने चिल्ला कागजका लक्ष्मीका तस्विरहरु प्रायः भारतमा छापिने गर्छ। तर, यस्तो तस्विर नेपालमा भित्रिएको धेरै भएको छैन।

विशेषगरी काठमाडौं उपत्यकामा पहिला तिहार (स्वन्ति नखः) मा हातैले छापेको लक्ष्मीको तस्विर पूजा गरिन्थ्यो। पुँ (चित्रकार)हरुले थासामा हातैले तस्विर छाप्थे। अहिले भने त्यसरी हातैले तस्विर बनाउने पेशा लोप हुँदै गएको छ। काठमाडौं उपत्यकाका केही चित्रकार परिवारले मात्रै आफ्नो पर्खौली धर्मलाई निरन्तरता दिइरहेका छन्।

भारतबाट आयात गरिने तस्विरहरुमा लक्ष्मीका भिन्न आकृति बनाइएका हुन्छन्। तरकाठमाडौं उपत्यकामा भने हातैले निर्माण भएको तस्विरमा भने धनलक्ष्मीको आकृति हुन्छ।नेपालमा विशेषगरि १६ लक्ष्मी पुजिने गर्छन्। र, नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन पर्ने लक्ष्मीपूजामा भने धनलक्ष्मीको पूजा गर्ने परम्परा रहेको संस्कृतिकर्मीहरु बताउँछन्। 

भारतमा छापिने लक्ष्मीका तस्विरमा गणेश, सरस्वती लगायत अन्य देवदेवीका आकृति पनि हुन्छ। धेरैजसो चित्रमा लक्ष्मीले धन वितरण गरिरहेको आकृति हुन्छ। तर नेपालमा

चित्रकारहरुले बनाउने तस्विर ती भन्दा फरक हुन्छ। हातैले थासाबाट बनाइने धनलक्ष्मीको तस्विरमा कुबेर र सेतो ख्याक हुन्छ। धनलक्ष्मीको बाहनका कछुवा हुन्छ।भारतमा छापिने चित्रमा लाटोकोसेरोलाई लक्ष्मीको वाहनका देखाइएको हुन्छ। कछुवा ढिलो हिँड्ने र जथाभावी धन खर्चनगर्ने प्रवृत्तिको भएकोले त्यसलेधन संचय गर्न सिकाउने विश्वास छ।

यस्तै,तस्विरको माथिल्लो भागमा झुल राखिएको हुन्छ। कोठामा रंगिविरंगीझुलसँगै ढुकुटी पनि हुन्छ। यसको अर्थधनलक्ष्मी ढुकुटी संचय गर्ने स्थानमा बस्छ भन्ने हो। यसरी बनाइने चित्रमा देखिने ख्याकले धनी महाराजहरु कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलार्इ दिने गर्ने र कुबेरले भने धन संचय गर्ने कथन छ।केही भने ख्याकहरु डर लाग्दा हुने रउनीहरु राखेपछि धन चोरी हुने सम्भावना नरहेको बताउँछन्।

यसका साथै चित्रकारहरुले बनाउने धनलक्ष्मीको चित्रमा ुज्वला न्हाय्कुं हुन्छ। यस्तो ऐनासँगै लक्ष्मीको हातमा सिन्हस् मू ९सिन्दुर राख्ने बट्टा० पनि हुनछ।
ज्वला न्हाय्कंको मुनितिर बत्ति बाल्ने ठाउँ हुन्छ। र त्यहाँ तेल राखेर बत्ति बाले पछि त्यसको प्रकाश माथि रहेको ऐनामा देखिन्छ र त्यसले कोठा उज्यालो हुने र धन सुरक्षित हुने जनविश्वस छ।

यस्तो आफ्नै मौलिकता बोकेको हातैले बनाइने धनलक्ष्मीका चित्रहरु अहिले विस्थापित हुने संघरमा पुगेको छ। बजारमा भारतबाट आयातित चित्रहरुका कारण हामी धनलक्ष्मीको पूजा गर्न चुकेका छौं भने उल्टै हाम्रो पैसा देश बाहिर गइरहेको छ।
जो अझै हातैले बनाउँछन् धनलक्ष्मी

भक्तपुरका पूर्ण चित्रकार र चेतकुमारी चित्रकार ३० वर्ष अघिसम्म तिहारको बेला हरेक वर्ष काठमाडौं आउँथे। काष्ठमण्डप अगाडि उनीहरुले भक्तपुरबाट ल्याएको आफैले बनाएको लक्ष्मी तस्विर बिक्री गर्न राख्थे। तर धेरै भयो उनीहरु काठमाडौं नआएको। कारण आयातित लक्ष्मीका तस्विरले बजार लिनु।

चेतकुमारीका श्रीमानपूर्ण चित्रकारनवदुर्गाको ख्वापा(मुकुन्डो) बनाउँछन्। पूर्णसँग बिहे गरेर आएपछि नै चेतकुमारीले रंगको काम गर्न थालेकी हुन्। घरको कामसँगै उनी पूर्णलाई सघाउन थालिन्। अरुले रंग लगाएको र बनाएको हेर्दै उनले पनि धनलक्ष्मीको चित्र बनाउन सिकिन्।

अहिले उनले धनलक्ष्मी बनाउँदै गरेको चित्रको तस्विर खिच्न हरेक वर्ष तिहार अघि मानिस उनको घर पुग्ने गर्छन्। कथा सोध्छन्, समस्या सोध्छन्। धनलक्ष्मीलाई भने अब एउटा चिन्तै छ : अब कसले अघि बढाउँछ होला पुर्खौली ज्ञान ?

रंगिन तस्विरहरु नेपालमा भित्रिएपछि हामीले बनाएको चित्र बिक्री हुन छाड्यो, उनी भन्छिन्। हातैले बनाएको लक्ष्मीको तस्विरको मूल्य रंगिन तस्विरभन्दा धेरै पर्छ। ज्ञान, समय र सीपको मूल्य अलि बढि पर्ने नै भयो। त्यसमाथि बजार सानो छ। जसकारण सस्तोमा लक्ष्मीको तस्विर किन्न पाएपछि मौलिक लक्ष्मी विस्थापित हुँदै गएको उनको अनुभव छ।

पूर्ण चित्रकार पनि आफ्नो छोरापछि यो पुर्ख्यौली सीप नै समाप्त हुन्छ भन्ने चिन्तामा छन्। कुनै बेला बसन्तपुरसम्म आएर लक्ष्मीको तस्विर बिक्री गरेर हजारौंको व्यापार गर्ने उनी अब भविष्यमा यस्तो तस्विर बनाउने मान्छे नै नपाउने हो कि भन्ने बताउँछन्। जति सक्छौं गर्छौं। छोराले गर्छ। त्यसपछि के हुन्छ थाहा छैन, दुवैजनाको एकै भनाइ छ।

भक्तपुरकै कृष्णराम चित्रकारको चिन्ता पनि पूर्ण र चेत कुमारीको जस्तै छ। उनी पछि यो पेसा धान्ने कोही छैन।बाल्यकालमै उनले लक्ष्मीको चित्र बनाउन सिकेका थिए।तिहारको बेला हजारवटासम्म तस्विर हातैले बनाउने गरेको स्मरण छ उनलाई। नागपोखरीमा घर भएका उनी अहिले पनि आफूले बनाएको चित्र लिन मानिसहरु आउने गरेको बताउँछन्। तर यो क्रम कहिलेसम्म जारी हुन्छ भन्ने आफूले यकिन भन्न नसक्ने बताउँछन्। आफूले जानेको देवीदेवताको काम हो। अरुले गरेनन् भनेर आफूले नगर्ने भन्ने पनि हुँदैन, :  उनी भन्छन्।

यस्तै, काठमाडौं र ललितपुरमा पनि चित्रकारका केही परिवार छन् जसले अझै पनि हातैले लक्ष्मीको चित्र बनाउँछन्। असन, काष्ठमण्डप र मंगलबजारमा भारतबाट आयातित तस्विरसँगै धनलक्ष्मीको चित्र पनि बिक्रीमा हुन्छ। तर, मौलिका लक्ष्मीको तस्विरबारे धेरैलाई थाहा नहुँदा किन्ने मानिस नै नआएको उनीहरु सुनाउँछन्।

अतस्यस्तो अमूर्त संस्कृति जोगाउन जसले जहाँबाट जति गर्न सक्छ, त्यो गर्नुपर्छ। भारतबाट आउने लक्ष्मीकीको पूजा गर्नै हुन्न भन्ने पनि होइन। तर नेपालको आफ्नै मौलिक प्रविधिले निर्माण हुने चित्र छाडेर बाहिरबाट आयात हुँदा देशको अर्थतन्त्र नै बिग्रिने हो। हरेक व्यक्तिले वर्ष एउटामात्रै हातले बनेको तस्विर किने यो मौलिक पेसाप्रति आउने पुस्ता पनि आर्कषित हुन्थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *