दीपक मनांगेलाई १५ लाखको रक्सी खुवाएकोमा स्पष्टीकरण

काठमाडौं, १३ कार्तिक । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ (ख) का उम्मेदवार राजीव गुरुङ (दीपक मनांगे) लाई चुनावको लागि निर्वाचन आयोगले मनोनयन दर्ता गर्न जाँदा रक्सी खानलाई खर्च भएको भनिएको १५ लाख रुपैयाँको हिसाब बुझाउन निर्देशन दिएको छ ।

उहाँले हालै मात्रै निर्वाचन आयोगले चुनावका लागि ३० लाख, ३३ लाख मात्र खर्च गर्न पाइन्छ भनी बनाएको नियम प्रयाप्त नभएको भन्दै मनांग मनोनयन मात्र दर्ता गर्न जाँदा पनि १५ लाखको रक्सी खाइदिने गरेको अभिव्यक्ति दिनुभएको थियो ।

उहाँको यही अभिव्यक्तिका आधारमा हिजो निर्वाचन आयोगले उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उहाँले यसो भन्नुभएको भिडियो पनि सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले उहाँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम उक्त स्पष्टीकरण सोधेको हो ।

मन्त्री गुरुंगले स्वयम् आपैmले मनोनयन दर्ता गर्न जाँदा रक्सी खुवाउँदा १५ लाख रुपैयाँ खर्च भएको भनी स्वीकारेका कारण यसले निर्वाचन आचारसंहिता विपरितका क्रियाकलापलाई इंगित गरेको निर्वाचन आयोगले बताएको छ ।

उहाँलाई आयोगले उक्त अभिव्यक्ति उहाँ आफैको होइन भन्ने के प्रमाण छ भन्दै उहाँले मनोनयन दर्ता गर्न जाँदा रक्सी खुवाउँदा लागेको भनेको रु. १५ लाखको सक्कल बिल भौचर, उक्त खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नम्बर र उक्त रकम प्राप्तीको स्रोत समेत खुलाई जवाफ पेश गर्न भनिएको छ ।

यही कसुरमा उहाँलाई किन कारवाही नगर्ने भनेर पनि स्पष्टीकरणमा प्रश्न सोधिएको छ ।

दीपक मनांगे मनाङ (ख) बाट निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।