भोटेकोशीको बाढीले मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो, ६५ जनाको जीवितै उद्धार
काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार साँझ सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको शव फेला परेको हो ।
बाढीका कारण नुवाकोट जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । प्रहरीका अनुसार नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको मृत्यु भएको छ । यस्तै, धादिङमा ९ जना (५ महिला, २ पुरुष र २ जना पहिचान नखुलेका), रसुवामा १ पुरुष र चितवनमा १ महिलाको मृत्यु भएको पुष्टि भएको छ ।
बाढीको चपेटामा परेका ६५ जनालाई सुरक्षाकर्मीले घाइते अवस्थामा जीवितै उद्धार गर्न सफल भएका छन् । उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना रहेका छन् ।
उद्धार गरिएकामध्ये ३६ जनालाई रसुवाको धुन्चेमा र ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । नुवाकोटमा उद्धार गरिएका घाइतेहरूमा एक जना प्रहरी समेत रहेका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशीमा अचानक आएको बाढीले तटीय क्षेत्रमा ठुलो धनजनको क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी तथा उद्धारमा खटिएको छ । बाढीले बगाएर बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।