दनुवार समुदायले तीन दिनसम्म मनाइने ‘बर्की एकादशी’ आजदेखि
सिन्धुली, १७ कात्तिक । आदिवासी दनुवार समुदायले मनाउने ‘बर्की एकादशी’ आजदेखि सुरु भएको छ । यो पर्व दनुवार समुदायको बाहुल्य रहेको कमला खोँच क्षेत्रमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
पर्वको आज पहिलो दिन पराम्पराअनुसार किशोरी तथा महिलाहरू आआफ्नो टोलको मुखिया अधिकारीको घरमा भेला भएर नदीमा नुहाउन जान्छन् । नदीबाट अम्खोरामा जल लिएर सिधै दिवारमा पुग्छन् । त्यहाँ पाँच फन्का घुम्दै जल चढाउँछन् अगरबत्ती जलाउँछन्, नरिवल, छाेकडा, मिस्री प्रसादका रूपमा चढाउँछन् र अम्खोरा शीरमा बोकी लाइनमा घर फर्किन्छन् ।
गोष्ठा ‘मुखिया अधिकारी’ घरमा रितिअनुसारको विधि गरेर व्रत प्रारम्भ गरिएको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सविना अधिकारी दनुवारले जानकारी दिनुभयो । समूहमा नदीमा नुहाई शुद्ध वस्त्र पहिरिएर पवित्र भई देवारमा पूजा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एकादशी व्रत गर्नेले आज साँझमा एक छाक साकाहारी भोजन गर्छन् । सब्जीमा तोरीको साग खाने चलन रहेको उहाँको भनाइ छ ।
पर्वको द्रोस्रो दिन अर्थात् पर्वको मुख्य दिन अघिल्लो दिनको विधि पुनः दोहोर्याइन्छ । देवारमा पूजा गरेर घर फर्किंदा बाटोमा भेटिएकालाई प्रसाद बाँड्दै हिँड्ने चलन छ । यस दिन बर्तालुहरु घरमा भेटिँदैनन् । रिना अधिकारी दनुवारले भन्नुभयो, “यो दिन आफन्त, चिनेका साथीहरूको घरमा पुगेर नरिवल, छाेकडा, चक्लेट, मिस्री दिने चलन छ ।”
यसदिन जथाभावी बस्न नहुने र बसिहाल्न परेमा मुखिया अधिकारीले दिएको चामलले भूमिको पूजा गरेर मात्र बस्नुपर्ने रीतिथिति रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस दिन दिनभर निराहार रातभर जाग्राम बस्ने पराम्परा छ ।
पर्वको तेस्रो अर्थात अन्तिम दिन नुहाई अमला वा ल्वाङ, सुकुमेल टोकेर नदीमा फालिन्छ । यसलाई पारन गरेको भन्ने चलन छ । त्यसपछि बर्तालुहरु घर फर्किन्छन् । दाइ वा भाइले एकादशी गरेको हो ? भनेर पाँच पटक सोध्छन् । बर्तालुले विधिवत्रूपमा व्रत सम्पन्न गरेको हूँ भनेपछि मात्र दही चिउरा खाने चलन रहेको उहाँले बताउनुभयो । अन्य खानेकुरा तथा अन्न यसको भोलिपल्ट मात्र खान हुने बर्तालुहरु बताउँछन् ।
यस पर्वको अवसरमा दुधौली नगरपालिकाले बर्सेनि एक दिन बिदासमेत दिँदै आएको छ । यस वर्ष पनि पर्वको मुख्य दिन कात्तिक १८ गते सार्वजनिक बिदा दिइएको नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवारले जानकारी दिनुभयो ।
नगरपालिकामा दनुवार समुदायको बाहुल्य रहेको र यो जातिले बर्की एकादशी मुख्य पर्वको रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइने गरिएको उहाँको भनाइ छ । ‘स्थानीय सरकारले पनि सार्वजनिक बिदा दिन पाउने प्रावधानअनुसार बिदा दिएका हौँ”, उहाँले भन्नुभयो ।
यसैको अवसरमा दनुवार जागरण समिति, सिन्धुलीले शुक्रबार दनुवार सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । दनुवार समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बर्की एकादशी तथा चौथो दनुवार सांस्कृतिक महोत्सवको आयोजना गरिएको अध्यक्ष नारायण अधिकारी दनुवारले बताउनुभयो ।
नेपालमै पहिलो पटक विसं २०७५ मा दुनपा–६ पर्साहमा दनुवार जागरण समिति सिन्धुलीले पहिलो महोत्सव सञ्चालन गरेको थियो ।
