आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन

काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ ।

निर्वाचन आयोगले चुनावमा मतदाताकाे मत बदर हुन नदिन र मतदातालाई सक्रिय सहभागिता गराउन मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाताका घरदैलोमा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो ।

देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वास्थ्य स्वयंसेविका परिचालन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

स्वयंसेविकालाई मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पालिकामार्फत हरेक वडामा खटाउने छन् ।

मतदाता शिक्षाका लागि जिल्ला–जिल्लामा सामग्री पुगिसकेका छन् । एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुईवटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।