अध्यक्ष ओली चुनावी दौडाहामा, दुई दिनमा ६ सभालाई सम्वोधन

काठमाडौं, २७ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने छ ।

अध्यक्ष ओलीले कर्णाली प्रदेशको कालीकोट रास्कोटमा, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्वोधन गर्नुभएको थियो ।

नेकपा (एमाले) जिल्ला कमिटी डोटीले दिपायलमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको बताउनुभएको थियो ।

‘विभिन्न दलबीच जुन गठबन्धन भएको छ, त्यो देशको विकास, समृद्धिका लागि होइन, राष्ट्रियताप्रति चिन्ता र चासो छैन, केबल जनतालाई झुठो आश्वासन दिएर चुनाव जित्ने र पछि भागबण्डा गरेर खाने एउटामात्र उद्देश्य हो, उहाँले भन्नुभएको थियो, ‘मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्नेछ । त्यसपछि सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरू पश्चिम सेती, खुटीया–दिपायल फास्ट ट्रयाक, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिने, नेपालको नक्शामा कायम गरिएको लिपुलेक लिम्पियाधुराको भूमि फिर्ता ल्याउने काम हुन्छ ।’