सात वटै महादेशका सात सर्वोच्च शिखर चढेका आरोही सम्मानित
काठमाडौं, २७ कार्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत सातवटै महादेशका सर्वोच्च शिखरहरू सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान राख्नुभएका आरोही चुनु श्रेष्ठ मानन्धरलाई शनिवार एक कार्यक्रम बीच सम्मान गरिएको छ ।
काठमाडौं वडा नं. २२ स्थित पाक्व पुखुद्यां मानन्धर सनाः खलःको आयोजनामा भएको ‘ध्वाँय् पूजा (झण्डा पूजा)’ को अवसरमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उहाँलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
आरोही चुनु श्रेष्ठ मानन्धरले सन् २००८ मा नेपाली महिला आरोही समूहको सदस्यका रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसपछि क्रमशः अष्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल कोसिस्ज्को (२२२८ मिटर), युरोपको सर्वोच्च शिखर एलब्रस (५६४२ मिटर), अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो (५८९२ मिटर), दक्षिण अमेरिकाको अकोनकागुवा (६९६२ मिटर), उत्तर अमेरिकाको दनाली (६१९४ मिटर) र अन्टार्टिकाको भिन्सन मास्सिफ (४८९२ मिटर) हिमालको सफल आरोहण गर्नुभएको थियो ।
सोही कार्यक्रममा पाक्व पुखुद्यां मानन्धर सनाः खलःका बाजा गुरु हरिबहादुर मानन्धर, परम्परागत भोज व्यवस्थापनका प्रेमकृष्ण मानन्धर लगायत एसईई उत्तीर्ण भएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।
गुथिका अध्यक्ष (कजि) माहिलाकाजी मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष टिकाबहादुर मानन्धरले स्वागत र कोषाध्यक्ष बद्रीनारायण मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।