दैनिक तीन सभामा सम्वोधन गर्दै ओली, एमालेसँग दुस्मनी साँधे आफैँ सकिने चेतावनी

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली हिजोआज दैनिक कम्तीमा तीन ओटा चुनावी सभामा सहभागी हुने र सम्वोधन गर्ने गर्नुभएको छ । पछिल्लो सयम सुदुर पश्चिम र कर्णाली प्रदेशका कार्यक्रममा सहभागी ओली सोमबार बागमती प्रदेशका तीन कार्यक्रममा सहभागी हुनुभयो । सबै भन्दा पहिला चितवनको कार्यक्रममा सहभागी ओली त्यसपछि सिन्धुलीको दुधौलीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्न पुग्नुभयो ।
उहाँले त्यहाँ सम्वोधन गर्दै देश समृद्ध बनाउन सुदृढ सरकार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प साकार पार्न सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको र त्यो तानातान गर्ने समूह देशका लागि नचाहिएको भन्दै निर्वाचनपछि सुदृढ राष्ट्रिय शक्तिको देशको आवश्यकता एमालेले पूरा गर्ने बताउनुभयो । अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने वताउँदै त्यसका लागि सिन्धुलीबाट एमालेका सबै उम्मेदवारलाई विजयी बनाई पठाउन आग्रह गर्नुभयो ।
एमालेले घोषणापत्रमार्फत ल्याएका २० ग्यारेन्टीको कार्यान्वयनका लागि पनि एमालेका उम्मेदवारलाई विजयी बनाउन उहाँले सिन्धुलीवासीलाई आग्रह गर्नुभयो ।
बालबालिका, बृद्धबृद्धा सबैका लागि एमाले नै चाहिएको अध्यक्ष ओलीले बताउनुभयो । महिला तथा किशोरीलाई स्यानेटरी प्याडका लागि बार्षिक एकहजार पाँच सय रुपियाँ दिने व्यवस्था एमालेले घोषणापत्रमार्फत ल्याएको जानकारी गराउँदै यो व्यवस्था कसैले पनि हटाउन नसक्ने वताउनुभयो । उहाँले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग देशको आर्थिक समृद्धिका आधार भएको बताउनुभयो ।
उहाँले चितवनको सभालाई सम्वोधन गर्दै प्रचण्डप्रति लक्षित गर्दै भन्नुभयो– ‘मैले माडीमा आउँदा भनेको थिए मणि बनाउनतिर जान्छु भनेर । मैले राम र लक्ष्मण जन्मिएको ठाउँमा राम लक्ष्मणहरू बसेको र राज गरेको ठाउँमा बचपन हुँदा खेलेका होलान्। त्यो ठाउँमा राम जन्मभूमि ल्याउँदा यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए।’
उहाँले एमालेसँग दुस्मनी साँधे आफैँ सकिने पनि बताउनुभयो । ‘सीता राम, लक्ष्मणहरूसँग पनि दुस्मनी गर्ने पनि सकिन्छन्। अहिले उकालोतिर लागेका छन्’ ओलीले थप्नुभयो, ‘गोरखामा पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले। खाना खाइरहेको ठाउँमा गुन्डा पठाएर बोतलै बोतलै हानेर टाउको फुटाउनतिर लागे।’ ओलीले प्रतिगमन गर्यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको आरोप लगाउनुभयो । त्यसैगरी साँझमा उहाँ आफ्नो निवासबाट २ समय मिटर नजिक आयोजित भक्तपुरको बालकोटमा आयोजित चुनावी सभामा सहभागी हुनुभयो ।