फेरी घट्याे नेप्से परिसूचक, कारोबार रकम १ अर्ब २ करोड

काठमाडाैं, २९ कात्तिक । साताकाे तेस्राे काराेबार मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन २१.२९ अंक बढेर बन्द भएको नेप्से, यस दिन ६.५९ अंक घटेर १८९७.८६ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स १.३३ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ९४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२९ स्टकको २२ हजार ७७१ पटकको कारोबारमा १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको २७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ८.५६ प्रतिशत घटेको छ। त्यसैगरी, यसैदिनदेखि कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन ८.४२ प्रतिशत घटेको छ।

मंगलबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।