मतदानपछि मतपेटिका सुरक्षा निकायले स्कर्टिङ गर्ने तर आफ्नो गाडीमा नबाेक्ने

काठमाडाैं, २ मंसिर । गृह मन्त्रालयले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएपछि ‘बन्द मतपेटिका’ ३ वटा तरिकाबाट ढुवानी गर्ने निर्णय गरिएको छ ।

बन्द मतपेटिका कसरी ढुवानी गर्ने भन्नेबारे केन्द्रीय सुरक्षा समिति र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा छलफल भएको थियो । छलफलमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले मतदान गरे पछिको बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी गर्दा ‘विवाद हुन्छ’ भन्दै आफ्नो संगठनको गाडीमा नबोक्ने अडान लिएका थिए ।

आईजीपी अर्यालको अडानपछि गृह मन्त्रालयले बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी नगर्ने निर्णय गरेको छ ।

सुरक्षा निकाय बाहेकको सवारी साधन भाडामा लिएर मतपेटिका ढुवानी गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । उनले भने, ‘सवारी भाडामा लिएर ढुवानी गर्ने र सुरक्षा निकायले स्कर्टिङ गर्ने निर्णय गरिएको छ ।’

सवारी साधन नचल्ने र बोकेर ढुवानी गर्नुपर्ने ठाउँमा सेना, प्रहरी र सशस्त्रको साथमा ढुवानी गर्नुपर्ने छ । ‘गाडी नचल्ने र ४–५ घण्टा हिँडेर ढुवानी गर्न सकिने ठाउँमा सुरक्षाकर्मीको साथमा बोकेर ढुवानी गर्ने निर्णय गरिएको छ। गाडीमा ढुवानी गर्दा सशस्त्र र सेनाले स्कर्टिङ गर्ने निर्णय गरिएको छ ।

मतपेटिका राखिएको गाडीमा दलका प्रतिनिधि र मतदान अधिकृत सँगै हुन्छन् । बन्द मतपेटिका ढुवानीका लागी गाडी भाडामा लिएर परिचालन गर्न ९ करोड बजेट निकासा गरिएको छ । सो बजेट प्रमुख जिल्ला अधिकारीले खर्च गर्नेगरी देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाइएको सहसचिव पोखरेलले जानकारी दिए ।

हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने छ । गाडी नजाने र ४–५ दिन पैदल हिँड्नुपर्ने ठाउँको मतपेटिका सेनाको हेलिप्टरबाट मतगणनास्थलसम्म ल्याउने निर्णय गरिएको छ । बन्द मतपेटिका ढुवानी गरिने गाडी र हेलिकप्टरमा सुरक्षाकर्मी बस्दैनन् ।

मतपेटिका ढुवानी गर्ने छुट्टै गाडी नपाएको अवस्थामा फारम भरेर सुरक्षा निकायको गाडीमा मतपेटिका ढुवानी गर्न सकिने छ । तर, सो गाडीमा सुरक्षाकर्मी नबस्ने र उनीहरूले सुरक्षा प्रदान गर्ने निर्णय गरिएको छ ।