साइबर तथा डिजिटल वित्तीय ठगीमा परे १२४७ मा उजुरी गर्न राष्ट्र बैङ्कको आग्रह

काठमाडौं ३ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीका घटनामा तत्काल उजुरी तथा गुनासो गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता घटनाको जानकारी दिन र आवश्यक सहयोग लिन २४सै घण्टा सञ्चालन हुने हटलाइन नम्बर १२४७ मा सम्पर्क गर्न बैङ्कले अनुरोध गरेको हो।

राष्ट्र बैङ्कका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ।

उक्त केन्द्रमार्फत अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन र उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेमा ढिलाइ नगरी १२४७ नम्बरमा सम्पर्क गर्न र केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

त्यस्तै, ठगीमा परेमा तत्काल आफ्नो बैङ्क तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराई बैङ्क खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैङ्कले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *