मतदानपछि ओलीले भन्नुभयो– ‘मंसिर १५ भित्रै एमालेको नेतृत्वमा बहुमतको सरकार बन्ने आँकलन छ’
काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आजको निर्वाचनपछि एमालेले बहुमत ल्याउने बताउनु भएको छ । एमालेले बहुमत ल्याउँछ भन्ने मैले अपेक्षा लिएको छु,’ भक्तपुरस्थित सिरुटारमा रहेको महेन्द्र शान्ति माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेर फर्केपछि ओलीले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘एमालेले बहुमत ल्याउँछ भन्ने मैले पहिलादेखि नै आँकलन गरेको छु र आजको आँकलन पनि अहिलेसम्म मेरो त्यहि छ ।’
उहाँले चुनावले राम्रो नतिजा ल्याउने पनि उहाँले बताउनुभयो । ‘यद्यपि यो चुनावको गरिमालाई घटाउने गरी विभिन्न प्रकारका शक्तिहरु लागेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘मुख्य गरेर युवाहरुलाई आवेगमा ल्याउने, भावनामा बगाउने र सहि राजनीतिक दिशातर्फ विमूख गराउने खालका प्रयासहरु पनि भएको देखिन्छ । तर, ती सबैलाई सचेत नेपाली जनताको प्रयासले पराजित गर्ने मैले देखेको छु ।’
उहाँले केही ठाउँमा उपद्रोकारी तत्वले छिटफुट्ट रुपमा उपद्रो गरेको पनि उहाँले जानकारी लिएको बताउनुभयो । उहाँले त्यस्ता केही ठाउँमा अप्रिय घटना भए दोहोर्याएर निर्वाचन हुने पनि बताउनुभयो । ‘केही छिटफुट्ट घटना बाहेक निर्वाचन शान्तिपूर्ण हुने मैले अपेक्षा लिएको छु,’ उहाँले भन्नुभयो, ‘जनताको सचेतता र राष्ट्र सेवकहरुले पनि तटस्थ भूमिका खेल्नुहुने छ र निर्वाचन शान्तिपूर्ण हुनेछ भन्ने विश्वास छ ।’
उहाँले मंसिर १५ भित्रमै बहुमतको सरकार बन्ने पनि बताउनुभयो । ‘मंसिरभरी पनि पर्खिरहनुपर्छ भन्ने मलाई लाग्दैन,’ उहाँले भन्नुभयो, ‘हामी बहुमत ल्याउँछौँ र हामीसँग सहकार्य गर्नेहरु सरकारमा सामेल हुन्छन् ।’ उहाँले स्वतन्त्रहरुका बारेमा खासै चर्चा गर्नु नपर्ने बताउनुभयो ।
उहाँले सबैलाई उत्साहपूर्ण ढंगले मतदानमा सहभागी हुन पनि आग्रह गर्नुभयो ‘मैले यस मतदान केन्द्रबाट मतदान गरेँ । अहिलेसम्म मतदान गर्न बाँकी रहनु भएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई पनि उत्साहपूर्ण ढंगले मतदानमा सहभागी हुन, मतदान केन्द्रमा जान र मतदान गर्न आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘अहिले मैले केही पनि भन्ने होइन आफूलाई मन परेको पार्टी र उम्मेदवारलाइ मतदान गर्नुहोला तर मतदान अवश्यक गर्नुहोला ।’
उहाँले सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा भन्नुभयो– ‘आजको दिन मेरा लागि मात्रै होइन देशका लागि नै महत्वपूर्ण छ । मैले विश्वास लिएको छु, देशका लागि आजको निर्वाचनले सकारात्मक मोड लिने छ अर्थाता यो मतदान कोशेढुंगाका रुपमा रहने छ ।’
उहाँले अत्यन्त सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरणमा आफूले मतदान गरेको बताउँदै अन्त पनि केही बाहेक सबै ठाउँमा शान्तिपूर्ण मतदान भएको बताउनुभयो । ‘तपाईँहरुले कति उत्साहपूर्ण ढंगले मतदान भैरहेको छ भन्ने कुरा यो मतदान केन्द्रमा पनि देख्नु भएकै छ,’ उहाँले भन्नुभयो, ‘यहाँ कुनै पनि प्रकारको समस्या देखिएको छैन, यो खुशीको कुरा हो । अरु पनि धेरै ठाउँमा यस्तै शान्तिपूर्ण ढंगले मतदान भैरहेको मैले सुनेको छु ।’
ओलीसँगै पत्नी राधिका पनि मतदान केन्द्रमा मतदानका लागि पुग्नु भएको थियो ।