भोलि बाला चतुर्दशी

जिउँदो सर्पलाई आगोमा हालेर आज गरिँदैछ लुति अजिमा मन्दिरमा सर्पाहुति

सुरेश किरण

भोलि बाला चतुर्दशी । बाला चतुर्दशीका दिन पशुपतिमा सत्बिज छर्ने गरिन्छ । यही दिन काठमाडौंको माथिल्लो भेगस्थित लुति अजिमा अर्थात इन्द्रायणी देवीको जात्रा पनि हुन्छ । यसलाई लुति अजिमाको जात्रा हुन्छ । यही जात्राको क्रममा लुति अजिमाको मन्दिर सामू एउटा अनौठो होम गरिन्छ । जसमा जिउँदो सर्पलाई आगोमा आहुति दिइन्छ । सर्पलाई आहुति दिई गरिने होम भएकोले यो होमलाई सर्पाहुति भन्ने गरिन्छ । आज मध्य राति यो होम गरिँदैछ ।

कोही हेर्न इच्छुक हुनुहुन्छ भने आज मध्य राति शोभा भगवती पारीपट्टि रहेको लुति अजिमा अर्थात इन्द्रायणी देवीथानमा गई यो सर्पाहुति हेर्न सक्नुहुन्छ ।

लुति अजिमालाई होम गर्दागर्दै होमको आगोमै एक जोर फट्याङ्ग्रा, एक जोर, माछा, एक जोर भङ्गेरा, एक जोर सर्प र रांगाको एउटा टाउको आहुति दिने गरिन्छ । यसमा रांगाको टाउको बाहेक बाँकी चारै जीवलाई जीवितै आगोमा हालिन्छ । होम गर्दा एक जोर माछा हातमा लिई एउटालाई आकासतिर फालिन्छ भने अर्कोलाई आगोमा होमिन्छ । त्यस्तै फट्याङग्रा, भङ्गेरा र सर्प पनि एक एक जोर हातमा लिई एउटालाई आकासतिर र अर्कोलाई आगोमा हालेर यज्ञ गरिन्छ । यसैलाई सर्पाहुति भन्ने गरिएको हो ।

यो सर्पाहुतिको कार्य जसले पायो उसले गर्न भने मिल्दैन । यो देवीको पूजारी वा पुरोहितले गर्ने पनि होइन । यो काम स्थानीय ‘थकू जुजु’ ले मात्र गर्न पाइन्छ । ‘थकू जुजु’ भनेका मल्ल राजा हुन् ।

यो सर्पाहुतिको कार्य जसले पायो उसले गर्न भने मिल्दैन । यो देवीको पूजारी वा पुरोहितले गर्ने पनि होइन । यो काम स्थानीय ‘थकू जुजु’ ले मात्र गर्न पाइन्छ । ‘थकू जुजु’ भनेका मल्ल राजा हुन् ।

मल्लकालमा काठमाडौंका विभिन्न स्थानहरूमा कर उठाउने, शान्ति सुरक्षा कायम गर्ने आदि प्रयोजनका लागि स्थानीय प्रशासकहरू नियुक्त गरिएका हुन्थे । तिनै प्रशासकहरूलाई ‘थकू जुजु’ भनिन्थ्यो । तिनीहरू जुजु (राजा) नै त होइनन्, तर राजाका प्रतिनिधि भएकाले तिनलाई पनि सर्वसाधारणले राजा (जुजु) नै भनेर सम्बोधन गर्थे । देशबाट मल्ल राजाहरू विस्थापित भएर गए पनि त्यस्ता स्थानीय ‘थकू जुजु’ हरूको अवशेष भने अद्यापि कायम रहेको पाइन्छ । ती मध्ये काठमाडौंको माथिल्लो क्षेत्रमा अस्तित्ववान रहेका थकू जुजुका पुस्ताले यो सर्पाहुति गर्दै आइरहेको छ ।

यो सर्पाहुति कार्यमा एउटा अर्को पनि अनौठो चलन रहेको पाइन्छ । त्यो के भने यसमा आहुति गरिने सर्प, माछा, भङ्गेरा र फट्याङ्ग्रा चारै जीवहरू अरु ठाउँबाट ल्याउन पाइँदैन । ती जीवहरू सबै त्यही लुति अजिमा मन्दिर र त्यसको खोला छेउछाउबाटै टिपेर ल्याएको हुनुपर्छ । अहिले खोला पनि सुकेर गएकाले यी जीवहरू पाउन मुश्किल हुँदै गएको बताइन्छ । तर मुश्किल जति नै भए पनि सर्पाहुतिको यो परम्परा भने अद्यावधि चलि नै रहेको छ ।

जात्रामा सुँगुरको मासु

यो सर्पाहुति भएको भोलिपल्ट अर्थात बाला चतुर्दशीका दिन लुति अजिमालाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । काठमाडौं नगरको माथिल्लो भेगमा चलाइने यो नै सबैभन्दा ठूलो खट जात्रा हो । यो खट जात्रा हुँदा स्थानीय थँहिति टोलका मानन्धर समुदायले अजिमाको प्रसाद स्वरुप ‘मरःजा’ ख्वाउने चलन छ । मरःजा भनेको तान्त्रिक विधिले पूजा गरी पकाएको एक खाले भात हो । भात सँगै विभिन्न दाल र तरकारी पनि दिने गरिन्छ । यो भात खाए पछि कुनै पनि प्रकारको रोगव्याधीले छुन सक्दैन भन्ने लोक विश्वास छ ।

तर यति बेला थँहितिका मानन्धर समुदायले खुवाउने यो ‘मरःजा’ को पनि अलग्गै विशेषता छ । त्यो के भने यो ‘मरःजा’ खुवाउँदा त्यसमा एक एक टुक्रा सुँगुरको मासु पनि राख्ने गरिन्छ । अरु बेला मानन्धर समुदायले सुँगुरलाई छुनु पनि हुँदैन । छोएमा नुहाएर चोख्याउनु पर्छ । तर लुति अजिमाको जात्रामा मरःजा खुवाउँदा भने सुँगुरकै मासु राख्नु पर्छ । त्यसैले थँहितिका मानन्धर समुदायलाई ‘सुँगुरको मासु खाने’ भनेर जिस्क्याउने पनि गरिन्छ ।

लुजि अजिमाको कथा

काठमाडौंमा धेरै अजिमाहरू छन् । तिनीहरू जम्मै दिदीबहिनी हुन् । तिनका आमा हुन् पशुपतिका बत्सलादेवी । एकदिन आमा बत्सलादेवीले सबै छोरीहरूलाई घरमा भोज बोलाएछन् । दिदी बहिनीहरू मध्ये लुति अजिमा सबैभन्दा गरिब र सन्तान पनि बढी भएका रहेछन् । उनी सबै छोराछोरी बोकेर माइती गइन् ।

तर त्यहाँ पुग्दा त भोजै सकिसकेको रहेछ । उनलाई कुनै पनि दिदी बहिनीले एक छिन पनि कुरेर बसेनन् । यसले गर्दा उनलाई ठूला चोट लाग्यो । उनी छोराछोरीलाई लिएर भोकै फर्किन् ।

काठमाडौंको फसिकेब (हाल रञ्जना पछाडि) पुगे पछि थकित छोराछोरीहरू सबै भोग लाग्यो भनी रुन थाले । लुति अजिमा अब उनीहरूलाई फर्सीको तरकारी भए पनि ख्वाउनु प¥यो भनी केही फर्सी टिपेर घर गइन् । घर पुगेर फर्सी काट्दा त्यस भित्र त सुनै सुन पो रहेछ । त्यस पछि भने लुति अजिमाको भाग्यले कोल्टे फे¥यो । उनी सबै दिदी बहिनीहरू भन्दा सम्पन्न बने ।

अर्को साल माइतीमा फेरि भोजको आयोजना भयो । लुति अजिमा जिउभरी सुनको गहना लगाएर माइती गइन् । त्यो बेला भने उनलाई अत्यन्त सम्मानको व्यवहार गरियो । दिदी बहिनीहरू अगाडि पछाडि बसेर उनको गुण गाउन थाले । उनका लागि भनेर मीठा मीठा परिकारहरू तयार गरिए ।

त्यस पछि उनी ‘लुँति’ अर्थात् ‘सुनको गहना लगाउने’ नामले प्रख्यात भइन् । नेपालभाषामा सुनलाई ‘लुँ’ भनिन्छ । त्यही ‘लुँति’ पछि लुति हुन गयो । लुति अजिमा रहेको ठाउँलाई अहिले लुति भनिन्छ ।

 तर लुति अजिमाले आफूलाई ल्याइएका खानाहरू आफूले नखाई आफ्ना गहनाहरूलाई ‘ल खा ल खा, राम्ररी खा’ भन्दै ख्वाउन थालिन् । दिदीबहिनीहरूले ‘ए, यो के गरेको ?’ भनी सोध्दा उनले जवाफ दिइन्, ‘तिमीहरूले आज यहाँ जो सम्मान देखायौ त्यो मलाई होइन मेरा यी गहनाहरूलाई देखाएका हौ । त्यसैले तिमीहरूले बनाएको खाना पनि यही गहनालाई ख्वाउन लागेकी ।’

दिदीबहिनीहरूको शीर लज्जाले झुके । त्यस पछि उनी ‘लुँति’ अर्थात् ‘सुनको गहना लगाउने’ नामले प्रख्यात भइन् । नेपालभाषामा सुनलाई ‘लुँ’ भनिन्छ । त्यही ‘लुँति’ पछि लुति हुन गयो । लुति अजिमा रहेको ठाउँलाई अहिले लुति भनिन्छ ।