काठमाडौंका १० क्षेत्रको अवस्था

रूख ५, घन्टी ३ र सूर्य २ सिटमा अगाडि

काठमाडौं, ६ मंसिर । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा संघीय राजधानी समेत रहेको काठमाडौं जिल्लाको मत परिणाम पनि अनपेक्षित ढंगले आइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा पहिलेदेखि वर्चश्व कायम रहेका पुराना पार्टीहरूलाई ठूलो धक्का लागेको छ भने घन्टी चिन्ह भएका नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट जित्ने सम्भावना देखिएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले क्षेत्र नं. १, ३, ४, ५ र १० गरी पाँच क्षेत्रमा जित्ने सम्भावना देखिएको छ । क्षेत्र नं. १ मा कांग्रेसका निवर्तमान सांसद प्रकाशमान सिंह विजयी भइसक्नुभएको छ ।

त्यस्तै नेकपा (एमाले) ले क्षेत्र नं. ९ मा जितिसकेको छ भने क्षेत्र नं. ७ मा रास्वपासँग तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।

नयाँ शक्तिका रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. ८ मा जितिसकेको छ भने क्षेत्र नं. २ जितको नजिक र ७ मा एमालेसँग प्रतिस्पर्धा गरिरहेको छ । काठमाडौंमा घन्टी चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टीको यो विजय अत्यन्त अप्रत्याशित रहेको देखिन्छ ।

काठमाडौं—१ः नेकांका प्रकाशमान सिंह विजयी

काठमाडौं क्षेत्र नं. १ मा पूर्ववत नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह विजयी भइसक्नुभएको छ । यसपाली उहाँको मतान्तर पहिलेको भन्दा धेरै कम रह्यो । उहाँका निकटम प्रतिद्वन्द्वी यस पटक पनि रवीन्द्र मिश्र नै रहनुभयो । यो क्षेत्रमा सिंहले ७१४३ मत प्राप्त गनुभएको छ भने मिश्रले ७०१८ मत पाउनुभएको छ । यहाँ मिश्र पहिले करिब ८०० मतले हार्नुभएको थियो भने यस पटक १३५ भोटले हार्नुभएको छ ।

काठमाडौं—२ः तीन महिलाको तीव्र प्रतिस्पर्धा

क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राप्रपाकी कुन्तीदेवी पाण्डेको प्रतिस्पर्धा चलिरहेको छ । रास्वपाकी गौतम अगाडि रहनुभएको यो क्षेत्रमा तेस्रो शक्तिका रुपमा माओवादी केन्द्रकी उम्मेदवार एवं पूर्व सभामुख ओनसरी घर्ती रहनुभएको छ ।

यही क्षेत्रबाट उठ्नुभएका बागमती प्रदेशका पूर्व सभामुख एवं एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठ भने पराजित हुनुभएको छ । श्रेष्ठ उठ्नुभएको प्रदेशसभा २ (१) बाट राप्रपाका सुनिल केसी विजयी भइसक्नुभएको छ ।

काठमाडौं—३ः कांग्रेसका सन्तोष चालिसे अगाडि

क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे सबैभन्दा अग्रस्थानमा हुनुहुन्छ । उहाँले ९२६५ मत पाउँदा नेकपा (एमाले) का कृष्ण राईले ७०२४ मत पाउनुभएको छ ।

यो क्षेत्र नं. ३ (१) बाट नेपाली कांग्रेसकै छिरिङ दोर्जे लामा विजयी भइसक्नुभएको छ । 

त्र ३ (२) मा पनि नेपाली कांग्रेसकै विमल ठकुरी अगाडि रहनुभएको छ भने एमालेका रामेश्वर फुयाँलले उहाँलाई पछ्याइरहनुभएको छ ।

काठमाडौं—४ः कांग्रेसका गगन थापा विजयी

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भइसक्नुभएको छ । उहाँ यो क्षेत्रमा तेस्रो पटक विजयी हुनुभएको हो । उहाँले २१,३०२ मत पाउनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजन भट्टराईले १३,८५५ मत पाउनुभएको छ ।

गगन थापाले यो चुनावमा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौं—५ः एमालेका ईश्वर पोखरेललाई कठिन

क्षेत्र नम्बर ५ मा एमालेका बलिया उम्मेदवार ईश्वर पोखरेललाई यो पाली नेपाली कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलले पछि पारेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पोखरेलले ५६८० मत पाउँदा कांग्रेसका प्रदीप पौडेल ८२२० मतका साथ अग्रस्थानमा रहनुभएको छ । यहाँ एमाले नेता पोखरेलको जित्ने सम्भावना कम हुँदै गइरहेको बताइएको छ ।

काठमाडौं—६ः घन्टी चिन्हका शिशिर खनाल अगाडि

काठमाडौं क्षेत्र नम्बर ६ मा घन्टी चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल ४४१२ मतका साथ अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेकपा (एमाले) का सर्वेन्द्र खनालले २८१३ मतका साथ पछ्याइरहनुभएको छ भने यो क्षेत्रबाट निर्वाचित पूर्व सांसद नेपाली कांग्रेसका भिमसेनदास प्रधान २५८० मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।

क्षेत्र ६ (क) मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठ अग्रस्थानमा हुनुहुन्छ भने उहाँको पछि राप्रपाका जगतसागर महर्जन आइरहनुभएको छ । ६ (ख) मा एमालेका अमनकुमार मास्के अग्रस्थानमा रहनुभएको छ ।

काठमाडौं—७ः रास्वपा र एमाले प्रतिस्पर्धा

काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेका श्याम घिमिरे र रास्वपाका गणेश पराजुली बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यहाँ कहिले घिमिरे अगाडि त कहिले पराजुली अगाडि रहने क्रम जारी छ । पछिल्लो गणना अनुसार घन्टी चिन्हका पराजुली ३२१२ मत ल्याई अग्रस्थानमा पुग्नुभएको छ भने एमालेका श्याम घिमिरे ३१६१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । गठबन्धनकी मानुषी यमि भट्टराई २५२१ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।

प्रदेशसभातिर ७ (१) मा एकीकृत समाजवादीका बसन्त मानन्धर पहिलो स्थानमा हुनुहुन्छ भने उहाँलाई एमालेका जीवन मानन्धरले पछ्याइरहनुभएको छ । आधी मत गनिसक्दा जीवनभन्दा बसन्त करिब ६५० मतले अगाडि रहनुभएको छ ।

काठमाडौं—८ः घन्टीको जित निश्चित

काठमाडौं क्षेत्र नम्बर ८ मा घन्टी चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयको नजिक पुग्नुभएको छ । उहाँले ६९२१ मत प्राप्त गरिसक्दा लौरो चिन्हबाट उठ्नुभएका अर्का युवा उम्मेदवार सुमन सायमिले ४९०० मत पाउनुभएको छ ।

यो क्षेत्रका हेभिवेट उम्मेदवारहरू जीवनराम श्रेष्ठ (एकीकृत समाजवादी) ले २८२० मत पाउनुभएको छ भने शिवसुन्दर राजवैद्य (एमाले) ले २६११ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं. ८ (१) बाट लौरो चिन्हमा उठ्नुभएका शैलेन्द्रमान वज्राचार्य विजयी हुनुभएको छ । उहाँले एमालेका उम्मेदवार एवं निवर्तमान सांसद राजेश शाक्यलाई पराजित गर्नुभएको हो ।

क्षेत्र ८ (२) मा भने शंख चिन्ह लिई उठ्नुभएका स्वतन्त्र उम्मेदवार राजा शाक्य सबैभन्दा अग्रस्थानमा रहनुभएको छ ।

काठमाडौं—९ः एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ पुनः विजयी हुनुभएको छ । उहाँले ११ हजार ९५६ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभएको छ ।

पटक पटक मन्त्री भई लामो समयसम्म राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठलाई यसभन्दा अघि कहिल्यै नाम नसुनिएका पोखरेलले ‘नेक टु नेक’ प्रतिस्पर्धा गर्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

काठमाडौं—१०ः राजन केसी जित्ने निश्चित

काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजन केसी पुनः विजयी हुने निश्चित भएको छ । उहाँले ४८०१ मत पाउनुहुँदा रास्वपाका प्रदीप बिष्टले ३३७८ मत पाउनुभएको छ । केसी यही क्षेत्रका निवर्तमान सांसद हुनुहुन्छ ।

त्यस्तै प्रदेशसभातिर क्षेत्र नं. १० (१) मा नेपाली कांग्रेसकै पुकार महर्जन अग्रस्थानमा रहनुभएको छ भने त्यसपछि क्रमशः राप्रपाका उमेशराज सापकोटा, एमालेका शिवभक्ति बलामी र माओवादी केन्द्रका दिलीप महर्जन रहनुभएको छ ।