राजनीतिमा युवा

नेपालको पछिल्लो राजनीतिमा उपमेयर सुनिता डंगोललाई पछ्याउँदै युवाहरु

काठमाडौं, ८ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक धेरै नयाँ र युवा अनुहारहरू निर्वाचित भएका छन् । यो सकारात्मक पक्ष हो । निर्वाचन ऐनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखिएको छ । अहिले निर्वाचित धेरै युवा जनप्रतिनिधिहरू ३० र ३० भन्दा कम उमेर समुहका छन् ।

नयाँ र स्वतन्त्रबाट निर्वाचित केही जनप्रतिनिधिहरू पनि ३० वर्षे उमेर समूह वरिपरिका छन् । यसरी निर्वाचित केही युवाले त आफूहरूको विजय सँगै देशको राजनीतिमा ‘युवा युग’ आरम्भ भएको दावी पनि गरिरहेका छन् ।

वास्तवमा नेपालको पछिल्लो राजनीतिमा ‘युवा युग’ को आरम्भ भएको वर्तमान अवस्थाको यथार्थ हो । तर, यसको आरम्भ अहिलेको चुनावदेखि मात्रै भएको भन्ने दावी भने यथार्थ होइन । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा धेरै युवाहरुको उपस्थिति भैसकेको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन ।

उक्त चुनावमा नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा २९ वर्षीय युवा उम्मेदवार सुनिता डंगोललाई मैदानमा उतारेका थियो । जुन विश्वास गरेर डंगोललाई एमालेले उम्मेदवार अघि बढायो । त्यसको धेरैले डंगोलसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि प्रशंसा गरेका थिए । पूर्व मिस नेवाःको ख्याती कमाउनु भएकी र अन्य सामाजिक अभियानहरुको सक्रियताले चर्चामा रहनुभएकी डंगोलको उम्मेदवारी त्यतिबेलाको एक राजनीतिक आश्चर्य थियो । उहाँको उम्मेदवारीलाई युवा वर्गले कतिसम्म रुचाए भने मतदान हुनु अघि नै डंगोलको विजय सुनिश्चित भइसकेको थियो ।

पूर्व मिस नेवाःको ख्याती कमाउनु भएकी र अन्य सामाजिक अभियानहरुको सक्रियताले चर्चामा रहनुभएकी डंगोलको उम्मेदवारी त्यतिबेलाको एक राजनीतिक आश्चर्य थियो । उहाँको उम्मेदवारीलाई युवा वर्गले कतिसम्म रुचाए भने मतदान हुनु अघि नै डंगोलको विजय सुनिश्चित भइसकेको थियो

अन्ततः उहाँ ६८ हजार ६ सय १२ मतका साथ धेरै फराकिलो अन्तरले विजयी हुनुभयो । उहाँले प्राप्त गर्नुभएको त्यो मत आफैमा एक कीर्तिमान थियो । डंगोलसँगै मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र साह पनि विजयी हुनभएको थियो ।

त्यसो त स्थानीय तहको त्यो निर्वाचमा ७ सय ५३ स्थानीय तह मध्ये नेकपा (एमाले) एक्लैले ८३ स्थानमा मेयर र १ सय२३ स्थानमा अध्यक्ष जित हात पारेको थियो । त्यस्तै १ सय १५ स्थानमा उपप्रमुख र १ सय२६ स्थानमा उपाध्यक्ष जित हात पारेको थियो । एमालेले जितेका २ सय ६ पालिका प्रमुख मध्ये २६ जना प्रमुख ४० वर्ष कम उमेरका छन् । एमालेले २ सय ४१ स्थानीय तहमा उपप्रमुख र उपाध्यक्ष जितेको छ । ती मध्ये ८७ जना उपमेयर र उपाध्यक्ष ४० भन्दा कम उमेरका छन् भने ६ जना मेयर अध्यक्ष ३५ वर्ष भन्दा कम उमेरका छन् ।

काठमाडौं महानगरपालिकामा डंगोलको त्यो ऐतिहासिक विजयले राजनीतिमा रुचि राख्ने युवाहरूलाई अत्यन्तै उत्साहित बनाएको थियो । यदि आँट्ने हो भने डंगोल वयका युवाहरूले पनि चुनाव जित्न सक्दा रहेछन् भन्ने आम विश्वास त्यसले जगाइदिएको देखिन्छ । वास्तवमा राजनीतिक दलहरूले समेत युवा उमेरका कार्यकर्ताहरूलाई चुनावमा उतार्न आँट गर्न थालेको पनि त्यसपछि नै हो ।

स्थानीय तहको चुनावमा सुनिता डंगोलको विजयपछि युवाहरूमा उत्साह भरिएसँगै विभिन्न राजनीतिक दलभित्र युवालाई टिकट दिनका लागि दबाब पनि सिर्जना हुन पुगेको देखिन्छ । यस्तो दबाब स्वयम् डंगोलकै पार्टी एमालेभित्र पनि बढेको बुझ्न सकिन्छ ।

त्यसैको फलस्वरुप एमालेले यो निर्वाचनमा युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर, अनेरास्ववियुका पूर्व उपाध्यक्ष महेश बर्तौला, अब्दुस मियाँ, एकलाल श्रेष्ठ जस्ता नयाँ युवाहरूलाई मैदानमा उतार्यो । बर्तौला जस्ता युवाले पुराना पुस्ताका उम्मेदवारलाई भारी मतले पराजित गर्दै जित निकाल्न सफल भए । कांग्रेस–माओवादीलगायतका दलले यो पटक युवालाई अघि बढाउने प्रयास गरेको देखिन्छ । 

युवा वर्गको यो उत्साह कतिसम्म चुलियो भने अब राजनीतिमा नयाँ मात्रै आउनुपर्छ र पुराना नेताहरूलाई हराउनै पर्छ भन्ने अराजक नाराका साथ ‘नो नट अगेन’ नामक विवादास्पद अभियान समेत चलाइए । यसको फाइदा भने नयाँ आएका पार्टीले लिए र अधिकांश युवा उम्मेदवारहरू विजयी पनि भए । युवा विजयी हुनु सकारात्मक कुरा हो । विश्वको इतिहासमा युवाहरुले मुलुकै नेतृत्व गरेको इतिहास हाम्रा सामू छ ।

युवा वर्गको यो उत्साह कतिसम्म चुलियो भने अब राजनीतिमा नयाँ मात्रै आउनुपर्छ र पुराना नेताहरूलाई हराउनै पर्छ भन्ने अराजक नाराका साथ ‘नो नट अगेन’ नामक विवादास्पद अभियान समेत चलाइए । यसको फाइदा भने नयाँ आएका पार्टीले लिए र अधिकांश युवा उम्मेदवारहरू विजयी पनि भए

तर, अहिले नयाँ आएको पार्टीबाट विजयी भएका युवा उम्मेदवारहरूसँग उर्जाशील उमेर छ, विचार छैन । त्यति मात्रै होइन विचारको नेतृत्व गर्ने सक्षम नेतृत्व पनि छैन । अहिले लहडमै चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै राजनीतिक विचार देखिँदैन । देश बनाउने दीर्घकालिन सोँच र लक्ष्य पनि देखिदैँन । पूराना र ठूला राजनीतिक दलको आलोचना गर्ने बाहेक यो पार्टीसँग कुनै पनि नयाँ विचार देखिदैँन । देश कस्तो बनाउने र व्यवस्था कसरी अघि बढाउने भन्ने ठोस धारणा पनि यो दलसँग छैन । यो दलसँग युवाहरुलाई भ्रमित बनाउने, चर्का भाषण गर्ने र बहकिएका युवालाई उत्तेजित बनाउने बाहेक ठोस योजना नहुनुले पनि यसको भविश्य कता पुग्ला भन्ने अनुमान गर्तमै छ । उक्त पार्टीको विधानमा पनि कुनै राजनीतिक सिद्धान्तको चर्चा गरिएको पाइँदैन ।

‘जनताका आम समस्या समाधान गर्ने’ जस्ता तत्कालिन आश्वासनका भरमा यो पार्टीले चुनाव जितेको देखिन्छ । यो एक किसिमले पञ्चायतकालीन नानीमैंया दहाल प्रवृत्तिकै युवा संस्करण मात्र हो कि भन्ने आशंका गर्ने प्रसस्त ठाउँ देखिएका छन् । यो शक्तिलाई नेपालको राजनीतिक अस्थिरतामा खेल्ने देशी–विदेशी शक्तिको ‘प्रोपागान्डा’ मा लिीभगतहरुको प्रहार हो भनेर आलोचना समेत सुरु भएको छ । केही तथ्यहरुले यो होइन भनिहाल्ने अवस्था पनि देखिदैँन ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख डंगोलकै सन्दर्भमा कुरा गर्ने हो भने उहाँले शुरुमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । तर, राजनीति भिडले होइन विचारले हाँकिन्छ भन्ने सोचका साथ उहाँले पछि एमालेबाटै चुनाव लड्ने निर्णय गर्नुभयो । अहिले उहाँसँग उमेर पनि छ, साथमा विचार पनि । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू विचारले निर्देशित नभएका कारण उहाँहरूको जितमै पनि विभिन्न प्रश्न उठिरहेका छन् । आफू नै सबथोक हो, त्यही भएर चुनाव जितेको भन्ने आत्मरति (नार्सिजम्) ले ग्रस्त भएका कारण उहाँहरू अहिले आफैबाट नै राजनीतिमा युवा युग शुरु भएको दावी गरिरहनुभएको छ ।

यो निर्वाचनमा धेरै संख्यामा युवा उम्मेदवारहरू जित्नु खुशीको कुरा हो । तर निर्वाचनमा जिते पनि कुनै राजनीतिक सिद्धान्त, वाद र विचारविहिन युवाहरूको यो समूहले आफूलाई प्राप्त भएको राजकीय शक्तिको सही उपयोग गर्न सक्लान् र भन्ने विषय भने अझै पनि शंकाकै घेराभित्र अल्झिरहेको छ ।