थापाथलीका आन्दोलित सुकुम्बासीले गरे महानगर कार्यालयमा अगाडी प्रदर्शन

काठमाडौं, १३ मंसिर । थापाथलीस्थित बागमती नदी किनारको जग्गा हडपेर बसेका सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको भन्दै त्यसकाे बिराेधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।

थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले सुकुम्बासी क्षेत्रमा करिब १३६ घर टहरा हटाउनुपर्ने अवस्था रहेको बताउँछन् ।