घरजग्गाको कारोबार ओरोलो लागेसंगै घट्यो राजस्व

काठमाडाैं, १५ मंसिर । घरजग्गाकाे कारोबारमा कमी आएपछि राजस्व सङ्कलन प्रभावित बनेकाे छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार प्रभावित बनेकाे छ भने यसबाट संकलन हुने राजस्व पनि घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट रु पाँच अर्ब ४९ करोड ५१ लाख ८३ लाख १८ बराबर राजस्व सङ्कलन भएको थियो । तर चालु यस वर्षको कात्तिकमा रु तीन अर्ब ७६ लाख २५ हजार नौ सय १६ बराबर मात्रै राजस्व सङ्कलन भएको छ ।

विभागका अनुसार गत असोजमा रु दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको छ । २०७८ साल असोजमा रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ राजस्व सङ्कलन भएको थियो भने २०७७ साल असोजमा रु पाँच अर्ब २७ करोड २० लाख ५३ हजार आठ सय तीन राजश्व सङ्कलन भएको थियो ।

विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा रु तीन अर्ब ५६ करोड २९ लाख तीन हजार नौ सय एक बराबरको राजस्व सङ्कलन भएको छ भने साउनमा देशभरका मालपोल कार्यालयबाट रु दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ राजस्व सङ्कलन भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत् घरजग्गामा जाने कर्जालाई अनुत्पादको श्रेणीमा राखेको छ । मौद्रिक नीतिमा काठमाडौँ उपत्यकाभित्र मूल्याङ्कनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण पनि घरजग्गामा जाने कर्जामा कमी आएको हो ।

सरकारले गत जेठमा जारी गरेको ‘भूउपयोग नियमावली, २०७९’मा जग्गा वर्गीकरण नगरी बिक्री वितरणमा रोक लगाएपछि घरजग्गाको कारोबारमा कमी आएको हो । नियमावलीमा काठमाडौँ उपत्यकामा पाँच सय वर्गमिटर र तराई र भित्री मधेशमा छ सय ७५ वर्गमिटरभन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था छ ।

जग्गा वर्गीकरण नहुँदा मालपोत र नापी कार्यालयमा पनि सेवाग्राहीको चाप कम परेको छ । सरकारले जग्गाको लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेको अवसरमा भूउपयोग नियमावली सार्वजनिक गरेको थियो ।

नेपालमा पहिलो पटक विसं १९७९ वैशाख १ गते घर जग्गा कारोबारको लिखत रजिस्ट्रेशन पारित भएको थियो ।