माओवादी केन्द्रलाई पछिपार्दै दोलखामा एमालेका शिवाकोटीको अग्रता
काठमाडौं, १८ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ ।
हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा एक हजार तीन सय ५९ मतान्तर सहित उहाँले अग्रता कायम गर्नुभएको हाे ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखा प्रदेशसभा१ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । भने प्रदेशसभा २ मा एमाले उम्मेदवार अगाडि हुनुहुन्छ । प्रदेशसभा १ मा ३५ हजार आठ सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २९ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा २ मा ४२ हजार एक सय ५४ मतगणना हुँदा एमालेका भरत केसीले १९ हजार चार सय १४ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मतका साथ पछ्याइरहनुभएको छ ।
जिल्लामा समानुपातिकतर्फ ३४ हजार ११ मतगणना गर्दा एमालेले १२ हजार पाँच सय ७८, कांग्रेसले १० हजार नौ सय १७ र माओवादी केन्द्रले चार हजार चार सय ६६ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।