अधुरा सपना

बि. एन ढकाल

कविता: अधुरा सपना

सानै छँदा आमालाई प्रश्न गर्थेँ
‘आमा ! हाम्रो बाबा खोइ ? ‘

प्रश्न सुन्नासाथ मेरी आमा
भुँई हेरेर आकाशको कुरा गर्थिन्
‘भगवानको घरमा हुनुन्छ तिम्रो बाबा !’
म सोध्थें, कहाँ छ भगवानको घर ?
मलाई बोकेर बाहिर दगुर्थिन् आमा
र देखाउँथिन् आकाशमा झुल्किएको पूर्णिमाको जून !

भरिएपछि रस, हुर्किएपछी यौवन
सुन्दर फूल फूल्छ !
र, जब लगाउँछ वासनाले हावासँग प्रेम
भमरा त यसै घुम्दोरहेछ फूलको वरिपरि !

म पनि त्यसरी नै फुलेको एउटा फूल थिएँ
र तिमी थियौ मेरो पनि वरिपरि !

धेरै जसो प्रेमीहरु आफ्ना प्रीयसीहरुलाई
आकाशका जून, तारा…. झार्दिन्छु भन्छन् रे !
तिमीलाई म प्रेमी भनूँ वा भनूँ नजुरेको जोडी !
तिमीले कैल्यै गरेनौ जून, तारा… झार्ने कुरा !
बरु गर्यौ जूनमै घर बनाउने हाँस उठ्दो कुरा !

चाहना थियो
तिम्रो अँगालोमा बाँधिएर तिम्रै आँखा नियाल्ने !
सपना थियो;
तिम्रो काखमा लुटपुटिएर तिम्रै निधारमा लेखिएको भाग्य चियाउने !
उद्देश्य थियो
तिम्रो सगरमाथा जत्रो काँधमा उभिएर तिम्रै सफलताको झण्डा फर्फराउने !
रहर थियो;
हजार जुनीसम्म तिम्रै हात समाएर
संसारलाई साढे सात फन्को मार्ने !

अफसोच् !
साढे सात फन्को मार्नु अघि संसारलाई
फन्को मारेछ साढे सातको दशाले तिमीलाई !
र गयौ तिमी मलाई छोडेर
आमाले भनेजस्तै उही भगवानको घर – जूनमा !

उ बेला तिमीले गरेको हाँस उठ्दो कुराले
आजभोलि मलाई खुब रुवाउँछ !

मलाई त अचेल
त्यो आकाशको जून र तिमी उस्तै लाग्छ !

र, जूनझैँ टहटह झुल्काएर तिमीलाई आँखामा
हरेक पूर्णिमाका रातबाट म सुनौला बिहान जन्माउँछु !

मेरो प्रीय मान्छे ! अब त्यो जूनमा
तिमीले भनेजस्तै घर बनाउनु
र, चाँडै खबर गर्नु
म पनि छिटै आउनेछु तिम्रै साथमा
संगालेर सबै अधुरा सपना

– अरुण गाउँपालिका-५, भोजपुर ।