तेह्रथुम छथरकी महिला अचार बिक्रीबाट मनग्य आम्दानी गर्दै

तेह्रथुम , २५ मंसिर । तेह्रथुम छथरकी महिलाहरू अचार बनाएर बिक्रीगर्दै मनग्य आम्दानी गर्न थालेका छन् ।

आर्थिक अवस्था भने कमजोर भएर बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर पर्नुपर्ने महिलाहरू अहिले मनग्य आम्दानी गर्न थालेका हुन् ।

घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन ।

गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो । जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उहाँको परिवारलाई । तर यतिबेला उहाँको दैनिकी फेरिएको छ ।

देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बन्नुभएको उहाँ यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आउनुभएको छ ।

हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आउनुभएकी उहाँले घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थाल्नुभएको छ ।

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उहाँले व्यवसाय गर्दै आउनुभएको छ । खासगरी अकबरेको अचार उत्पादन गर्दै आएका छन् ।

व्यवसाय सञ्चालनमा उहाँलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् । उहाँको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो रु एक हजारमा बिक्री गर्ने गर्नुभएको छ । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आउनुभएकी उहाँ आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ ।” उहाँ थप्नुहुन्छ, “सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।”

सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन ।

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छाैं ।

अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन ।