टुँडिखेलको भूमिगत पार्किङमा पीएसले देखेका ७ कमजोरी

टुँडिखेलको भूमिगत पार्किङ निर्माण प्रक्रियामै महानगरपालिकाको त्रुटि

काठमाडौँ, १ पुस । आज भन्दा करीब ३० वर्ष अघि पीएल सिंह काठमाडौं महानगरपालिकाको मेयर भएकै बेलामा एसियाली विकास बैंङ्कले लगानी गर्ने गरी प्रस्ताव ल्याएको टुँडिखेलमा भूमिगत पार्किङ बनाउने योजना त्यतिबेला स्थानीय र विज्ञहरुको समेत तिव्र विरोधपछि असफल भएको थियो । यद्यपि, त्यसपछि पनि यो असफल योजनालाई विभिन्न समयमा जनप्रतिनिधि र कर्मचारी तहबाटै आर्थिक लाभको स्वार्थमा फटक–पटक व्युँत्याउने प्रयासहरु भएका थिए ।

त्यहि असफल योजनालाई पछिल्लो समय काठमाडौं महानगरपालिकाले हचुवाका भरमा अघि सारेपछि खुलामञ्चलाई खुला राख्नुपर्छ भन्ने विषयले निकै चर्चा पाएको छ । धेरैले महानगरपालिकाको यो योजनालाई हचुवाको योजना भनेका छन् भने कतिले काठमाडौंको फोक्सो भनेर परिचय बनाएको टुँडिखेल मास्ने महानगरको अभियानको खुलेर विरोध गरेका छन् ।

काठमाडौंका मेयर बालेन्द्र साहले पार्किङ समस्या हटाउने भन्दै अन्य विकल्पहरूमा अध्ययन र छलफलनै नगरी सीधै जनताको टुँडिखेलमा आँखा लगाएपछि मेयर साहको समेत बढी आलोचना भएको छ । मैत्रीन्ज्युले यहि विषयमा कुराकानी गर्न ढुंगेधारा एवं भूमिगत जलविज्ञ पी.एस.जोशीसँग टेलिफोन सम्पर्क गर्दा उहाँले आफू ललितपुरको मंगलबजारस्थित मंगः हिति परिसरमा रहेको बताउनुभयो । जोशीले त्यहाँ आउँदा भेट हुने भन्नुभयो ।

हामी उहाँसँग टेलिफोन सम्वादपछि भेट गर्न मंगः हिति पुग्दा जोशी मंगः हिति छेवैको फल्चामुनि खनिएको करिब ३ मिटर गहिरो खाल्डोको निरीक्षणमा व्यस्त हुनुहुनथ्यो । ‘करीब आठ महिना अघि अचानक ढलकै जस्तो फोहोर पानी मंगः हितिमा झर्न थालेपछि स्थानीयहरु समेत चकित भए,’ हामीसँग भेट हुने वित्तिकै जोशीले निरीक्षण गर्दै गरेको खाल्टोतिर चोरीऔँला देखाउँदै भन्नुभयो, ‘पछि उक्त ढुंगे धाराबाट फोहोर पानी रोकियो तर धारामा फोहोर कसरी पस्यो त भनेर बुझ्न अहिले यसको मूल खोज्ने काम भइरहेको छ । म अहिले यहि काममा खटिरहेको छु ।’

हामीसँग भेट हुने वित्तिकै जोशीले निरीक्षण गर्दै गरेको खाल्टोतिर चोरीऔँला देखाउँदै भन्नुभयो, ‘पछि उक्त ढुंगे धाराबाट फोहोर पानी रोकियो तर धारामा फोहोर कसरी पस्यो त भनेर बुझ्न अहिले यसको मूल खोज्ने काम भइरहेको छ । म अहिले यहि काममा खटिरहेको छु ।’

उहाँले केही समय हामीलाई मंगः हितिको अवलोकन गराउनुभयो । ‘यो खाल्डोमा मंगः हितितिर बगिरहेको पानीको धार त भेटियो तर मूल भने भेटिएको थिएन, अवलोकनकै सिलसिलामा उहाँले भन्नुभयो । उहाँले उक्त खाल्डोमा पानी बगाउन बनाइएको डुँड कति जब्बर रहेछ भन्ने गज्जबको अनुभव पनि सुनाउनुभयो । ‘मंगः हिति करिब १५०० वर्ष पुरानो ढुंगेधारा हो,’ करीब १५ मिनेट जतिको अवलोकनमा उहाँले हामीलाई भन्नुभयो, ‘यो हितिलाई नेपालमा अहिले विद्यमान सम्पूर्ण ढुंगेधाराहरू मध्ये सबैभन्दा पुरानोमा दोश्रो मानिन्छ ।’

यस्तो पुरानो हितिमा पानीको सट्टा ढल बग्न थालेपछि जोशी जस्ता विज्ञको ‘निँद हराम’ भएको रहेछ । हामी पुगेपछि आफ्नो निरीक्षणबाट अलिकति फुर्सद निकाल्दै उहाँ हामीसँग टुँडिखेलको भूमिगत पार्किङबारेको हाम्रो जिज्ञासा मेटाउन तयार हुनुभयो । टुँडिखेलमा निर्माण गर्ने भनेको भूमिगत पार्किङबारे उहाँसँग गरेको कुराकानी उहाँकै शब्दमाः

टुँडिखेलको भूमिगत पार्किङबारे दुई पाटो

टुँडिखेलका बारेमा कुरा गर्दा भूमिगत पार्किङ निर्माण र टुँडिखेलको उपयोग गरी दुई ओटा पाटोबाट हेर्नुपर्छ भन्ने लाग्छ । जहाँसम्म टुँडिखेलको खुलापनको पाटो छ, त्यसलाई कसैले मास्नु हुँदैन र मिच्नु पनि हुँदैन । टुँडिखेलसँग सांस्कृतिक, सामाजिक, सहरी व्यवस्थापन लगायत अन्य कारणहरु पनि जोडिएका छन् । यी सबै कोणबाट हेर्दा यो टुँडिखेल मास्नु र मिच्नु हुँदैन र यसलाई बचाँउन हामी सबै लाग्नुपर्छ भन्ने विषयमा विवाद नै रहेन । अझै अघि बढेर भन्ने हो भने पहिला–पहिला मिचिएको ठाउँलाई समेत विस्तार गरेर यसमा जोड्न आवश्यक छ ।

अहिले केही समयदेखि टुँडिखेलमा भूमिगत पार्किङ बनाउने भनेर धेरै चर्चामा आएको छ र यो विषय विवादित पनि बनेको छ । पार्किङ भन्ने वित्तिकै हामीले सबै भन्दा पहिला पार्किङ केका लागि ? भनेर स्पष्ट हुन आवश्यक छ । काठमाडौं सहरमा अझै धेरै गाडी प्रवेशमा सहज बनाउनका लागि हो कि ? काठमाडौंको भित्री सहरको जीवन्त संस्कृतिलाई जीवन्त राख्नका लागि हो ?

यदि काठमाडौंको भित्री सहरलाई पैदलीकरण गर्ने हो र त्यसका लागि बाहिर गाडी पार्किङ गरेर जानुपर्छ भन्ने कोणबाट हेर्ने हो भने काठमाडौंको भित्री सहरको वरीपरी पार्किङ आवश्यक हुन्छ । टुँडिखेल मात्रै विकल्प होइन । यदि त्यसका लागि होइन भने त अहिले नै जसोतसो चलिरहेकै छ । किन टुँडिखेल नै रोज्नु पर्यो त ? यसरी पार्किङ बनाउने भनेर भन्दै गर्दा त्यहाँ पार्किङ गर्न आउनेको संख्यामा वृद्धि हुन्छ र गाडीको संख्यामा पनि झन वृद्धि भइ भित्री सहरमा भिडभाड बढ्ने र अस्तव्यस्त हुने सम्भावना पनि बढी हुन्छ । अझ भन्ने हो भने बढी गाडीलाई निम्त्याउन पार्किङ बनाउने कुरा बैज्ञानिक हुँदैन ।

गर्नुपर्ने के–हो त ?

भित्री सहरको सांस्कृतिक पहिचानलाई जीवन्त बनाइ राख्नका लागि गर्नुपर्ने चाँहि के–हो भने भित्री सहरको वरीपरी पार्किङको सुविधा नै हो । त्यो हो भने पार्किङका लगि कति क्षेत्रफल आवश्यक हुन्छ र अहिले कति क्षेत्रफल छ ? त्यो प्रश्नको जवाफ पनि खोज्नु पर्ला । काठमाडौंको भित्री सहरको पहिचानलाई जीवन्त राख्नका लागि वरीपरि मात्रै पार्किङ गर्ने हो भने विष्णुुमती किनारमा पनि पार्किङको व्यवस्थापन गर्न सकिन्छ होला ।

अहिले केन्द्रीय सरकारको योजनामा निर्माण भैरहेको धरहरा वरीपरी भूमिगत पार्किङ बनाउने भनिएको छ । त्यहाँ पनि व्यवस्थापन गर्न सकिन्छ होला । यस्ता ठाउँ अरुतिर पनि खोज्न सकिन्छ । काठमाडौंको भित्री सहरको सांस्कृतिक पहिचान जोगाउने योजना हो भने चाँहि प्रष्ट योजना बनिसकेपछि विकासका क्रममा आवश्यक नै पर्यो भने राज्य र जनतालाई पनि ठूलो फाइदा हुने अवस्थामा रहेछ भने केही प्रतिशत सम्झौता गर्नैपर्छ होला । यी सबै पाटोको प्रष्ट योजनापछि मात्रै टुँडिखेलमा भूमिगत पार्किङ बनाउन आवश्यक छ वा छैन भनेर योजनासहित अघि बढ्नुपर्छ होला भन्ने लाग्छ ।

सबै भन्दा पहिला सम्भाव्यता र भौगर्भिक अध्ययन

यदि, भूमिगत पार्किङ बनाउने हो भने भू–गर्भले के फरक पार्छ भनेर सबै भन्दा पहिला त्यहाँको भौगर्भिक अध्ययन गर्नु पर्ला नि ? राम्रोसँग अध्ययन गरिसकेपछि त्यहाँ कुन–कुन प्रकारको माटो छ, कुन खालको बनेको संरचना छ । त्यो संरचनाको अवस्था हेरिसकेपछि मात्रै के गर्न सकिन्छ भनेर अघि बढ्नु उपयुक्त हुन्छ । अहिले जुन ढंगले ती कुनै पनि कुराको अध्ययन नै नगरी एकैचोटी काम थालिहाल्छु भन्ने ढंगले जाने कुरा गलत छ ।

सबै भन्दा आपत्ति हचुवाको काममा

काठमाडौं महानगरपालिकाले अहिले टुँडिखेलमा भूमिगत पार्किङका लागि अघि बढाउन लागेको योजनाका बारेमा सबै भन्दा बढी आपत्ति भनेको सम्भाव्यता अध्ययन नै नगरी एकै पटक डीपीआर तयार गर्ने भनेर अघि बढेको अवस्थाको हो । डीपीआर नै तयार गरेर अघि बढ्ने भनेको त काम अघि बढ्यो है भनेको हो नि ? काम अघि बढाउनु अघि त्यहाँको सम्भाव्यता अध्ययन गर्ने लगायतका काम गर्नुपर्छ होला । त्यो अध्ययनबाट आएको निछोडका आधारमा त्यहाँ के गर्न सकिन्छ र के गर्न सकिँदैन भन्ने छुट्याउनु पर्ला होला ? भोलि गएर त्यसले एकदमै खराव गर्ने रहेछ भने पछि हट्नु पर्ने अवस्था पनि त आउँछ । ती सबै कुरा अध्ययन पछि मात्रै थाहा हुने हो । त्यसैले हचुवाका भरमा कुद्ने कुरा उचित होइन ।

रिचार्जबारे

टुँडिखेल ठूलो चौर हो । त्यो चौर भित्री सहरतिर अलिक कोल्टो परेर गएको छ । रिचार्जको प्रवाह भित्री सहरतर्फ जान्छ । त्यसमा कुनै शंका गर्नुपर्ने अवस्था रहेन । त्यसले रिचार्जको काम गरिरहेको छ । त्यो पानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि त्यहि अध्ययन गरेपछि मात्रै भन्न सकिन्छ । अहिले हचुवाका भरमा गरिने काम अपरिपक्क हुन्छ । रिचार्जका पनि विभिन्न तरिका छन् । त्यो गर्नै नसकिने भन्ने होइन । तर, त्यसका लागि पनि पहिला त भौगर्भिक अध्ययन नै चाहिन्छ ।

प्रक्रियामै महानगरपालिकाले ठूलो भूल

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा भूमिगत पार्किङको योजना अघि बढाउँदै गर्दा देखिएको अर्को महत्वपूर्ण अभाव वा महानगरपालिकाले नसोचेको पक्ष भनेको सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार मात्रै सरकारसँग हुन्छ । स्थानीय सरकारको सन्दर्भमा पनि त्यहि हो । सार्वजनिक जग्गाको संरक्षणको अधिकार मात्रै दिएको अवस्थामा विभिन्न तरिकाले दुरुपयोग गर्ने अधिकार उनीहरुलाई छैन । टुँडिखेल सार्वजनिक जग्गा हो भने सार्वजनिक छलफलका लागि किन महानगरपालिका तयार भएन ? मेरो बुझाईमा प्रक्रियामै सबै भन्दा ठूलो भूल यहाँनेर छ । मेरो सबै भन्दा ठूलो विमति यसमा हो ।

खुला खुलामञ्च अभियान नै चलिरहेका बेला सबैको राय लिएर अघि बढ्नुको सट्ट आफूखुशी अघि बढ्ने प्रक्रिया नै गलत छ । त्यहाँ सांस्कृतिक गतिविधि हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने हो ? यो विषयमा पनि छलफल त हुनुपर्छ होला नि ? समग्रतामा हेर्दा यो प्रक्रियामै ठूलो अभाव देखिएको छ । त्यहाँको इञ्जिनियरिङ अध्ययन गरिसकेपछि मात्रै के गर्न सकिन्छ के गर्न सकिँदैन भनेर अघि बढ्नुपर्छ ।

काठमाडौंका लागि फोक्सो हो, टुँडिखेल

टुँडिखेल भनेको काठमाडौंको फोक्सो हो । त्यहाँ जमिनमाथि कुनै संरचना बनाउने कुरा त कल्पना बाहिरको कुरा भयो । भूमिगत पार्किङका सन्दर्भमा पनि हचुवाका भरमा अघि बढ्न मिल्दैन ।

जस्तै उदाहरणका लागि मैले १० हजार स्क्वायर फिट भन्दा ठूलो घर बनाउने हो भने तीन ओटा ‘बोर होल’ खनेर त्यहाँको माटोको अध्ययन गरेर मात्रै डिजाइन गर्न पाउँछु । मैले एउटा घर बनाउँद त त्यति काम गर्नुपर्छ भने यति ठूलो खुलाचौरमा भूमिगत पार्किङ बनाउने भन्दै गर्दा त्यहाँको माटोको अध्ययन गर्नुपर्दैन ? महानगरपालिकालाई मेरो प्रश्न त्यहि हो ।