१६७ सांसदको समर्थन लिएर प्रचण्ड शीतल निवासमा

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा (एमाले) सहित ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ७ दलका १६६ सांसदसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको ७ दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।

प्रचण्डलाई एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ सहित १६७ सिटको समर्थन छ । सरकार बनाउन बहुमतका लागि १३८ सीट भए पुग्छ । ओली र प्रचण्डसँगै एमाले, माओवादी, जसपासहितका शीर्ष नेताहरू पनि शीतल निवास पुगेका थिए । स्वतन्त्र सांसदहरु प्रभू साह, किरणकुमार साह, डाक्टर अमरेशकुमार सिंहले पनि प्रचण्डलाई समर्थन गरेपछि समर्थन गर्ने सांसदको संख्या १६७ पुगेको छ ।