१२ वर्षदेखि अलपत्र घुमाउने पुल निर्माणका लागि स्थानीयको दबाब

काठमाडौँ, मंसिर १० । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको घुमाउने मोटरेबल पुल निर्माण कार्य अघि बढाउन स्थानीयले दबाब दिएका छन्। निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पुल अलपत्र रहेपछि स्थानीयले अवरोध हटाएर तत्काल निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

पुल निर्माणको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गर्नुभएको छ। उहाँहरूले पुल निर्माणमा देखिएको समस्या समाधान गरी काम अघि बढाउन आग्रह गर्नुभएको थियो।

सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले पुल पुरानै स्थानमा निर्माण गर्ने वा उपयुक्त नयाँ स्थान छनोट गर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो। यसका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

निर्धारित समय र पटक–पटक थपिएको म्यादमा समेत निर्माण सम्पन्न नगरेको तथा कार्यालयले निर्देशन दिँदा पनि निर्माण व्यवसायीले काममा चासो नदेखाएपछि गत वैशाखमा ठेक्का तोडिएको थियो। मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पुल निर्माणका लागि पहिलोपटक विसं २०७० असारमा सम्झौता भएको थियो। पटक–पटक म्याद थप र डिजाइन परिवर्तन भएपछि विसं २०७५ माघमा पुनः सम्झौता गरिएको थियो।

सम्झौताअनुसार विसं २०७८ चैतमा निर्माण सम्पन्न हुनुपर्ने पुलमा हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ। निर्माण सुरु गरिए पनि अहिले नदीका दुवैतर्फका भागमा पिल्लर मात्रै ठडिएका छन्।

पुल नबन्दा यस क्षेत्रका बासिन्दाले लामो समयदेखि आवतजावतमा सास्ती खेप्दै आएका छन्। स्थानीयले पटक–पटक मन्त्री, सांसद तथा सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित निकायमा पुगेर दबाबसमेत दिँदै आएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनको नारायणगढलाई छोटो दूरीबाट जोड्ने उद्देश्यले घुमाउनेघाटमा पुल निर्माण थालिएको हो। दमौलीस्थित व्यास नगरपालिका १ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै व्यासका विभिन्न वडा, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका ५ भएर मुग्लिन-नारायणगढ सडकमा जोडिन्छ।

यो सडक पृथ्वी राजमार्गको मुग्लिन खण्डको तुलनामा करिब २३ किलोमिटर छोटो छ। पुल निर्माण सम्पन्न भएमा तनहुँसँगै देवघाट गाउँपालिकाका वडा नं २, ३ र ४ लगायतका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन्। साथै पोखरा र दमौलीबाट नारायणगढ आवतजावतका लागि वैकल्पिक मार्ग उपलब्ध हुनेछ।

हाल मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँतर्फको सीमासम्म पुगेर फर्कनुपर्ने बाध्यता छ। मोटरसाइकलसमेत डो¥याएर मात्रै मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुर्‍याउन सकिने अवस्था छ। पुल निर्माणमा भइरहेको ढिलाइले छोटो दूरीको सडक उपयोगविहीन बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *