‘टुँडिखेल हाम्रो अन्तिम माटो हो’

काठमाडौं, १९ पुस । तीन वर्ष अघि खुल्ला टुँडिखेललाई खुल्लै राख्नुपर्छ भने उदघोषका साथ शुरु भएको थियो ‘अकुपाई टुँडिखेल’ अभियान । काठमाडौंको फोक्सो भनिने राजधानीको एउटै मात्र खुल्ला स्थान टुँडिखेलमा बस पार्क, निर्माण सामग्री, सैनिक भवन आदि जस्ता कुराहरू कोचिन ल्याएपछि त्यसको विरुद्ध स्वतःस्फूर्त रुपमा उठेको स्वतन्त्र अभियान थियो अकुपाई टुँडिखेल ।

अभियान केही वर्ष सुस्ताएको पनि थियो । तर काठमाडौं महानगरपालिका मेयर बालेन साहले यसलाई अरु बढी सुस्ताउन दिएन । टुँडिखेलको खुलामञ्च रहेको खुल्ला ठाउँमा तीन तले भूमिगत पार्किङ बनाउने मेयर साहको योजना सार्वजनिक भएपछि ‘अकुपाई टुँडिखेल’ फेरि जागा भएको छ । यसले गर्दा अभियानका संयोजक विजय श्रेष्ठ फेरि पनि आफ्नो दैनिक कामकर्म र व्यवसायलाई एकातिर पन्छाएर सडकमा आउनुपर्ने भएको छ ।

हिजो सोही अभियानको अगुवाईमा भूमिगत पार्किङ विरुद्ध मेयर साहलाई ज्ञापनपत्र दिन एउटा धर्ना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सञ्चार माध्यमहरुसँग कुरा गर्दै संयोजक श्रेष्ठले भन्नुभयो, ‘अब काठमाडौंमा बचेको अन्तिम माटो यति नै हो । यसलाई पनि मास्ने भनेपछि हामी त्यसको विरुद्ध सडकमा आएका हौँ ।’

तपाईहरूको विरोधको मुख्य कारण चाहिँ के हो त ?

काठमाडौंको यस्तो महत्वपूर्ण ठाउँलाई कसैसँग केही नसोधी पार्किङ बनाउनु कुनै पनि हालतमा राम्रो काम होइन । हामी त्यो गर्न दिँदैनौँ ।

त्यहाँ पार्किङ बनाउन किन हुँदैन ?

त्यो पार्किङस्थलमा हजारौं गाडी राख्ने भनिएको छ । त्यहाँ हजारौं गाडी हुलेपछि त्यो त एउटा ग्याँस च्याम्बर जस्तै हुने भयो नि । अब यसको सँगै वीर अस्पताल छ । त्यहाँ यसले कस्तो असर पुर्याउँछ होला ? अनि अर्को कुरा, त्यहाँ बनाइहाले पनि त्यो त एउटा भौतिक संरचना मात्रै हो । भूकम्प आयो भने त्यो के होला ? भूकम्पमा मान्छेहरु बस्न जाने भनेकै खुल्ला ठाउँमा हो । अब त्यो खुल्ला ठाउँमा पनि पार्किङ बनाइदियो भने मान्छेहरु कहाँ बस्न जाने ?

पार्किङ भए पनि त्यहाँ माथि त खुल्ला नै हुन्छ नि होइन ?

त्यहाँ खुल्ला गरेर के काम ? तल पार्किङ बनाएर माथि गार्डेन राखेर के काम ? यो त हाम्रो घरको कौशी गार्डेन जस्तै भयो । प्राकृतिक गार्डेन बिगारेर नक्कली गार्डेन बनाउने ? त्यो त नकली टुँडिखेल बनाएको भयो हैन । नकली धरहरा भन्ने बालेनले नकली टुँडिखेल बनाउन मिल्छ ?

त्यहाँ पार्किङ नबनाउने हो भने काठमाडौंको यातायात कसरी व्यवस्थापन गर्ने त ?

त्यसको लागि त पहिले यातायातै व्यवस्थापन गर्नुपर्छ । यातायात प्रणालीलाई वडास्तरदेखि नै व्यवस्थित गर्नुपर्छ । काठमाडौं भनेको पहिलेदेखि नै व्यवस्थित शहर हो । यो चानचुने शहर होइन । पछि यसलाई भताभुङ पारिएको हो । यसलाई त अहिले व्यवस्थित मात्रै गरे पुग्छ । केही नयाँ बनाउनु पर्दैन । यो पहिलेदेखि सांस्कृतिक शहर हो, यसलाई सांस्कृतिक शहर नै हुन दिनोस् न, किन कंक्रिटै कंक्रिटको संरचनाहरु बनाउनु पर्यो ?

तपाइँहरुले ज्ञापनपत्रका विकल्प पनि दिनुभएको छ ?

विकल्प प्रशस्तै दिएका छौँ । ट्राफिक, विज्ञहरुसँग छलफल गरेर विकल्प तयार गरेका हौँ । टुँडिखेलको वरिपरि नै प्रशस्त विकल्पहरू छन् । धरहरामा छ, भ्यू टावरमा छ, काठमाडौं मलमा छ । खोज्नुपर्छ, अझै भेटिन्छ ।

अब बालेन साहले राम्रो काम गर्न खोज्दा पनि गर्न नदिने भनेर तपाईंहरूलाई सोसल मिडियाले भन्न थाल्यो भने के गर्नुहुन्छ ?

होइन होइन, हामीले बालेन साहको विरोध गरेको होइन । उहाँले राम्रो काम गर्दा समर्थनै गर्छौं । नराम्रो काम गर्यो भने विरोध पनि गर्छौैं । अहिले गर्न लागेको चाहिँ नराम्रो काम हो, त्यही भएर विरोध गर्नुपरेको हो ।

सञ्चार माध्यमहरूसँग उहाँले गर्नुभएको संक्षिप्त कुराकानी –