प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क छुः ओली
काठमाडौं, २५ पुस । नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले भोलि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क भएको बताउनुभएको छ । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले गोटी चालाचाल नभई सबै मिलेर काम गर्न पनि आग्रह गर्नुभयो । ‘म सबै दलहरुलाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं,’ उहाँले भन्नुभयो, ‘बन्न पाएको छैन, बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बाद हुन्छ ।’
उहाँले आफ्नो कार्यकालमा प्रतिनिधिसभा विघटनको प्रसङ्ग कोट्याउँदै जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने दाबी गर्नुभयो । ‘प्रतिनिधि सभा विघटन प्रतिगमन हो भने संसदीय व्यवस्थाको जननी बेलायतमा हिजो अस्ति पनि प्रतिगमन भएको हो त,’ उहाँले भन्नुभयो, ‘नयाँ जनादेश माग्न जानु प्रतिगमन होइन । प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन होइन,अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हो । कुठाउँबाट सरकार बनाउनेमा जाँदैन जानु हुँदैन ।’