पुस २७ को सार्वजनिक विदाः राष्ट्रिय एकता बलियो होला कि अझ कमजोर ?

काठमाडौं, २७ पुस । अन्ततः आज पुस २७ गते राजा पृथ्वीनारायण शाहको जन्मदिनलाई ‘राष्ट्रिय एकता दिवस’ मनाउँदै सार्वजनिक बिदा दिने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले गरेको छ ।

पुष्पकमल दाहाल त्यही व्यक्ति हुनुहुन्छ जसले पृथ्वीनारायण शाहले आरम्भ गरेको ‘एक भाषा, एक देश, एक भेष’ भन्ने राष्ट्रिय नीतिलाई खारेज गर्दै देशमा समावेशी लोकतन्त्र सहितको संघीय व्यवस्था लागू गराउने सशस्त्र आन्दोलनको नेतृत्व गर्नुभयो र निरंकूश पञ्चायती व्यवस्थाले पृथ्वीनारायण शाहको नाममा दिइँदै आइरहेको पुस २७ को सार्वजनिक विदा खारेज गराउनुभयो ।

तर अहिले विडम्बना नै भन्नुपर्छ, उही पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्री बन्नुहुँदा उहाँकै नेतृत्वको सरकारले पृथ्वीनारायण शाहलाई ‘राष्ट्रिय एकताको प्रतीक’ भन्ने मान्यता फिर्ता गर्दै पुस २७ गतेको सार्वजनिक विदालाई पनि पुनस्र्थापित गरेको छ ।

सार्वजनिक बिदाको यो निर्णयले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नाममा यो देशका आदिवासी जनजातिहरुमाथि जे जति दमन गरेको हो, त्यसलाई वैधता प्रदान गर्ने काम गरेको आरोप लगाएको छ ।

पुस २७ मा सार्वजनिक विदा दिनुपर्ने जिकिर गर्नेहरूले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक मान्नुपर्ने तर्क पेश गरे पनि वास्तवमा पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक होइन भन्ने कुरा पुस २७ मा सार्वजनिक बिदा दिने निर्णयको विरुद्ध उठेका आवाजहरूले पनि स्पष्ट गरेको छ । जुन व्यक्तिको जन्मदिनमा सार्वजनिक बिदा दिनुपर्छ वा पर्दैन भन्ने विषयमै यति ठूलो मतभेद छ, तिनलाई कसरी ‘एकताको प्रतीक’ मान्न सकिन्छ ?

खास गरी देशका आदिवासी जनजाति र मधेसी समुदायले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक मान्न तयार गरिएको सत्तापक्षको भाष्यलाई पूरै रुपमा अस्वीकार गरेको छ । पुस २७ गते सार्वजनिक विदा गर्ने निर्णयलाई सबैभन्दा पहिले त आदिवासी जनजाति महासंघले खुलेरै विरोध गरेको छ । सार्वजनिक बिदाको यो निर्णयले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नाममा यो देशका आदिवासी जनजातिहरुमाथि जे जति दमन गरेको हो, त्यसलाई वैधता प्रदान गर्ने काम गरेको आरोप लगाएको छ ।

वास्तवमा ‘राष्ट्रिय एकीकरण’ भन्ने पदावली पृथ्वीनारायण शाह आफैले पनि कहिल्यै प्रयोग गरेका थिएनन् । उनको आफ्नै वाणी संग्रह गरिएको ‘दिव्योपदेश’ मा काठमाडौं जस्तो वैभवशाली राज्यको राजा हुन पाए कति आनन्द हुँदो हो भन्ने भाव व्यक्त गरिएको छ । अर्काले बनिबनाउ पारेको देश हड्पेर त्यहाँको राजा हुने इच्छा पाल्नुलाई ‘राष्ट्रिय एकीकरण’ भनिन्छ ? उनको इच्छा काठमाडौं जस्तो वैभवशाली राज्यको राजा हुनु मात्रै थियो । त्यही भएर काठमाडौं जित्ने बित्तिकै उनले यहीं बसेर राज गरे । आफ्नो पुर्खौली राज्य गोर्खालाई फर्केर पनि हेरेनन् । काठमाडौं विजय गरिसकेपछि पृथ्वीनारायण शाह कहिल्यै गोर्खा गएनन् । काठमाडौं जितेपछि उनले जे खोजेका थिए, त्यो पाए । त्यसपछि उनलाई गार्खा पनि चाहिएन ।

यो देशको निर्माण शाहवंशले गरेको हो त्यसैले यहाँ शासन गर्न पाउनु शाहवंशको वंशाणुगत अधिकार हो भन्ने भाष्यलाई स्थापित गर्नकै लागि मात्र पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ बनाइएको हो ।

काठमाडौं उपत्यका जित्न उनले जे जति बर्बर कृत्यहरु गरे, त्यो इतिहासबाट मेटिएर गएको छैन । पृथ्वीनारायण शाहको ‘राष्ट्र नायक’ भन्ने छबी निर्माण गर्न तत्कालीन पञ्चायती व्यवस्थाले के कस्ता विषयमा लगानी गरे, त्यो पनि कसैबाट छिपेको छैन । उनलाई राष्ट्र नायक बनाउनुको एउटै मात्र उद्देश्य थियो, राज्यको नेतृत्वमा रहेको उनको वंशलाई देवत्वकरण गर्नु । यो देशको निर्माण शाहवंशले गरेको हो त्यसैले यहाँ शासन गर्न पाउनु शाहवंशको वंशाणुगत अधिकार हो भन्ने भाष्यलाई स्थापित गर्नकै लागि मात्र पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ बनाइएको हो ।

अब देशको राज्यसत्ताबाट शाहवंश हटिसकेको छ । त्यसैले शाहवंशको महिमा गाउनकै लागि मात्र निर्माण गरिएको यो भाष्यको पनि म्याद सकिसकेको छ । यसलाई अब फेरि बोकिरहनुको कुनै अर्थ छैन । पृथ्वीनारायण शाहलाई राष्ट्र नायक नमान्दैमा यो देशको राष्ट्रिय अखण्डतामा कुनै आँच आउनेवाला छैन ।

उनको जन्मदिनमा सार्वजनिक विदा दिने घोषणा हुने बित्तिकै काठमाडौंमा नेवार जातिको राष्ट्रिय संगठन नेवाः देय् दबूले विरोध जनाइसकेको छ । मधेश आन्दोलनका अगुवा उपेन्द्र यादवले यसलाई अनावश्यक भनी असन्ताष प्रकट गरिसकेको छ । जसको नाम लिने बित्तिकै राज्यका नागरिक यसरी विभाजन भइसक्छ, उसैलाई राष्ट्रिय एकताको प्रतीक मान्नु जत्तिको हास्यास्पद विषय अरु के होला ?

यसबाटै थाहा हुन्छ, अबको नेपालमा सम्पूर्ण नेपाली जनतालाई एकताको सूत्रका बाँध्ने बलियो तत्व पृथ्वीनारायण शाह होइन । नेपाली जनतालाई अब एकताको मालामा गाँस्ने सूत्र भनेको नेपालमा अहिले लागू भइरहेको नयाँ संविधान हो । त्यसैले संविधान जारी भएको दिन मंसिर ३ लाई संविधान दिवस मात्र होइन राष्ट्रिय एकता दिवसका रूपमा समेत मनाउने निर्णय नेपाल सरकारले गरिसकेको हो । तसर्थ नेपालको राष्ट्रिय एकता दिवस मंसिर ३ गते हो, पुस २७ गते होइन । पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउने सरकारको निर्णयले राष्ट्रलाई एकता होइन विभाजित बनाइदिएको छ । राज्यले यसरी नै हठ लिन्छ भने पुस २७ कै कारण देशमा विद्यमान राष्ट्रिय एकतालाई कमजोर बनाइदिने खतरा उत्पन्न हुन सक्दछ । त्यो खतरातिर सबैको ध्यान जानु जरुरी छ ।