विमानकाे ‘ब्ल्याक बक्स’ भेटिएसँगै थाल्याे जाँचबुझ आयोगले काम

काठमाडौं, २ माघ । आइतबार बिहान पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ।

दुर्घटनामा जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ।

ब्ल्याक बक्सबाट विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ।

सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्।

साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।