उदयपुरमा जुनेलो खेती लोप हुँदै

उदयपुर, १८ माघ । जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन् ।

विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो । ती क्षेत्रमा पछिल्लो समय फापर र जुनेलो खेती नै हुन छाडेको कृषहरु बताउँदछन् । १२ वर्षअघि सम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक खम्बबहादुर मगर भन्नुहुन्छ, “केही वर्षअघि सम्म आफूले गाउँमा अरूले बिस्तारै यो खेती छाड्दै लगे, चार वर्षयता आएर म आफूले पनि यो खेती अहिले पूर्ण रुपमा छाडी दिएको छु ।”

परम्परागत खेती छाड्दै गएको कारण अहिले जुनेलो र फापर उत्पादन हुन छाडेको उहाँ बताउनुहुन्छ । रौता रामेटारमा क्षेत्रमा विगतका वर्षहरुमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन गर्ने र बिक्री गर्ने गरे पनि अहिले जुनेलो खेती कृषकहरुले गर्न छाडेको रामेटारका ६७ वर्षीय सूर्यबहादुर कार्की बताउनुहुन्छ ।

विगतमा गाउँका एक कृषकले पाँच, सात मुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक २० हजारभन्दा बढीको फापर र जुनेलो बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । घरपरिवारमा बिहान–बेलुकी खाजाका रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खाने जुनेलो पाउन छाडेको रौता मलबासेका स्थानीयवासी डिकबहादुर मगर बताउनुहुन्छ ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको भलायाडाँडा, तावाश्री, बाहुनीटार, इनामे क्षेत्रमा विगतका वर्षहरुमा व्यापक रुपमा उत्पादन हुँदै आएको फापर हिजोआज खेती हुन छाडेपछि यसको उत्पादन पनि झन्डै शून्य अवस्था नै हुन पुगेको भलायाडाँडाका स्थानीय कर्णबहादुर अधिकारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतमा पम्परागत खेतीको प्रचलन थियो, काम गर्ने जनहरु प्रशस्त हुन्थे, त्यसकारण गाउँघरका पाखाबारीहरुमा फापर उत्पादन हुने गरेको थियो, तर अहिले परम्परागत खेती हराउन थाल्यो, गाउँमा काम गर्ने मान्छे पनि पाउन छाडियो, फापर खेती सबैले छाड्दै लगे ।”

गाउँघरमा सडक आएपछि तराईमा उत्पादन भएको चामल गाउँमा आइपुग्न थालेको र गाउँको खेतमा पनि धान मकैमात्र खेती हुने गरेको कारण अहिले फापर खेती लोप हुँदै गएको भलायाडाँडाकै अर्का स्थानीय विष्णुप्रसाद काफ्ले बताउनुहुन्छ । विगतमा यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी फापर खेती उत्पादन हुने गरेको र बढी फापर उत्पादन हुने क्षेत्रका रुपमा परिचित रहेको काफ्ले बताउनुहुन्छ । तर अहिले गाउँमा एक पाथी फापर किन्नका लागि पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *