ब्राजिलमा आएकाे भीषण बाढीले छत्तीस जनाको मृत्यु
एजेन्सी, ८ फागुन । ब्राजिलको साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिराेले कम्तीमा ३६ जनाको ज्यान लिएकाे छ ।
बाढी पहिराेबाट उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका छन् । बाढीपहिराेमा परेका तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपत्काल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् ।
जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।